चितवन विशेष
चितवनका सूचना अधिकारी नै सूचना पाउँदैनन्

चितवन, चैत ४–
कुनै कार्यालयको सूचना अधिकारी भन्ने बित्तिकै आममानिससँगै सञ्चारकर्मीहरुलाई सही सूचना प्रवाह गर्ने व्यक्ति बुझिन्छ । अरुलाई सूचना दिनका लागि आफूसँग पर्याप्त सूचना आवश्यक हुन्छ नै तर चितवनका धेरैजसो सूचना अधिकारी आफै सूचनाविहीन छन् । जसका कारण आममानिसले सहज रुपमा सूचना पाउँदैनन् ।
सञ्चारकर्मीहरुले सरकारी कार्यालयहरुबाट सहज रुपमा सूचना पाउन कठिन भएको गुनासो गर्न थालेको वर्षौँ भइसक्यो । अहिले पनि अवस्था त्यस्तै छ । यही अवस्थालाई मध्यनजर गर्दै रजत जयन्तीको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार जिल्लाका सूचना अधिकारीहरुसँग छलफल कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका सूचना अधिकारी बलराम लुइँटेलले भने– ‘सहज रुपमा सूचना नपाएको गुनासो सुनेको वर्षौँ भइसक्यो, अहिले पनि यही विषयमा बहस गर्नु परेको छ, सूचना अधिकारीले नै सहज रुपमा सूचना पाउन सक्ने अवस्था अहिले पनि विद्यमान छ ।’
उनले अझै पनि कतिपय कार्यालयका सूचना अधिकारीले प्रमुखहरुसँग सूचना माग्दा पनि नपाउने गुनासो सुनाउने गरेको बताए । कार्यक्रममा धेरैजसो कार्यालयका सूचना अधिकारीहरु सहभागी थिए । कतिपयले कानेखुशी गर्दै कार्यालय प्रमुखले नै सहज रुपमा सूचना उपलब्ध गराउन नमान्ने गरेको बताउँदै थिए ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भने कस्तो अवस्थामा कस्ता सूचना दिन मिल्ने या नमिल्ने भन्ने विषयमा नै प्रष्ट हुनुपर्ने बताए । उनले भने ‘कोरोनाका कारण धेरै सञ्चारकर्मीसँग सम्पर्कमा छु, कहिले बाटोमा हिँड्दै गर्दा सूचना माग्नु हुन्छ, हामी कस्तो अवस्थामा कसरी सूचना दिने भन्नेमा नै अन्यौल छौँ ।’ सूचना अधिकारी पौडेलले भरतपुर अस्पतालले जहिल्यै पनि सहज रुपमा सूचना दिने गरेको बताए ।
सार्वजनिक महत्वका सूचना लिन जाँदा सञ्चारकर्मीहरु धेरै कोठा धाउनुपर्ने बाध्यता छ । केही कार्यालयहरु बाहेक धेरै जसो कार्यालयहरुमा यस्तै समस्या भोग्नु परेको सञ्चारकर्मीको गुनासो छ । पत्रकार वसन्त ढुङ्गानाले लिखित रुपमा सूचना माग गर्दा पनि सहज रुपमा सूचना नपाइने अवस्था रहेको गुनासो गरे । उनले भने– ‘कुनै कार्यालयमा सहज रुपमा सूचना पाइन्छ, कुनैमा लिखित निवेदन दिँदा पनि सूचना पाइँदैन ।’
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराई सहज रुपमा सूचना उपलब्ध गराउन सूचना अधिकारीहरुलाई निर्देशन दिए । उनले भने– ‘सूचना सबैका लागि उपलब्ध गराउनुपर्छ, दिन मिल्ने सूचना लुकाउन हुँदैन ।’ उनले छलफलमा सहभागिका कुरा सुनेपछि भने–‘कतिपय दिन मिल्ने सूचना पनि डराएर नदिएको हुन सक्छ, दुई पक्षको कम्युनिकेशन ग्याप हटाउनुपर्छ ।’
कार्यक्रममा सहभागी पत्रकारहरुले समन्वयको अभावमा सहज रुपमा सूचना पाउनबाट बञ्चित हुने गरेको बताएका थिए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारलाई मात्र नभई सामान्य नागरिकलाई पनि सरकारी कार्यालयहरुले सहज रुपमा सूचना उपलब्ध गराउनुपर्ने बताए । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
























