Breaking News
अमेरिकाले बनायो कोरोना भाइरसविरुद्ध खोप, पहिलो मानव परीक्षण गरियो

एजेन्सी, चैत ४-
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धको खोपको परीक्षण गरिएको छ । प्राणघातक कोरोनाको सङ्क्रमणबाट जोगाउन विकास गरिएको भ्याक्सिन अमेरिकाले पहिलोपटक मानवमा परीक्षण सुरु गरेको हो । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु भएको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी भएका छन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमबार भएको बिबिसीले जनाएको छ ।
सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा पहिलोपटक मानवमा परीक्षण भएको खोपको नाम mRNA-1273 राखिएको छ । तर ती स्वयंसेवीहरू आफू भने कोरोना भाइरसका सङ्क्रमित नरहेको बताइएको छ । उनीहरुले परीक्षणका लागि खोपका विभिन्न मात्रा लिएका छन्। जुन खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको तथा त्यसमा मेसिन्जर ‘आरएनए’को सानो भाग भएको बताइएको छ ।
पहिलो चरण परीक्षण भएको खोपमार्फत शरीरको प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ ।
























