चितवन विशेष
सप्तगण्डकी आमसञ्चार क्लबमा गैरेको नेतृत्व

चितवन, चैत १-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीको सक्रियतामा सञ्चालित आमसञ्चार क्लबको अध्यक्षमा असल गैरे चयन भएका छन् ।
क्लबको शुक्रबार सम्पन्न तेस्रो अधिवेशनले गैरेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा श्याम विश्वकर्मा, उपाध्यक्षमा मोनिका विश्वकर्मा, सचिवमा विकास ढकाल, कोषाध्यक्षमा आरुषी पौडेल, सहसचिवमा वर्षा मगर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा कल्पना चालिसे, रवि रेग्मी, सोना घिमिरे, सुस्मा गुरुङ, विमल अधिकारी, एन्जिला चौलागाईं, शिव गौतम, सुमित आचार्य, सन्दिप गुरुङ, अस्मिता घिमिरे, प्रतीक्षा मिश्र, प्रशान्त पौड्याल रहेका छन् ।
सप्तगण्डकी आमसञ्चार क्लबका निवर्तमान अध्यक्ष चन्द्रप्रकाश उपाध्यायको अध्यक्षतामा भएको क्लबको तेस्रो अधिवेशनमा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले आमसञ्चार र पत्रकारिता विषय प्राध्यापन गर्ने धेरै क्याम्पसमा पुगे पनि यस क्याम्पसमा पढाइमा स्तरीयता पाएको बताए । उनले प्राध्यापकहरु पनि पत्रकारिता क्षेत्रमा लागेकोले पनि सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनमा क्याम्पस अब्बल रहेको उनको विचार थियो ।
अध्यक्ष खतिवडाले सामाजिक सञ्जालमा प्रसारित भ्रामक सूचनाले गर्दा पत्रकारलाई गाली गर्ने गरेको भन्दै युट्युब वा फेसबुकमा केही लेख्दैमा त्यो व्यक्ति पत्रकार बन्न नसक्ने विचार राखे । अहिले विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाले सञ्चार अधिकृतको रुपमा विभिन्न रोजगारीका अवसरहरु विद्यार्थीले प्राप्त गर्ने भएकोले विद्यार्थीको भविष्य स्वण्र्णिम रहेको विचार राखे । पत्रकार महासंघ चितवन र सप्तगण्डकी बहुमुखी क्याम्पसबीचमा भविष्यमा उनले सहकार्यको अपेक्षा गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख मणिराज महतोले आमसञ्चार तथा पत्रकारिता शिक्षालाई अझ व्यवस्थित र स्तरीय बनाउन आफूहरु निरन्तर लागिरहेको विचार राखे । उनले भने, ‘अब केही दिनमा नै काठमाडौँबाट प्राविधिक बोलाएर आमसञ्चार ल्याबलाई अझ बढी व्यवस्थित बनाउने सोचमा हामी छौं ।’
सप्तगण्डकी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले आमसञ्चारका विद्यार्थीहरुको नैतिक आचरण सबैभन्दा महत्वपूर्ण भएको विचार राखे । विकास र सामाजिक परिवर्तनमा पत्रकारहरुको ध्यान जानुपर्ने अध्यक्ष थापाले बताए ।
त्यसैगरी क्याम्पसका पूर्वक्याम्पस प्रमुख खेमनारायण सापकोटाले स्थानीय तथा राष्ट्रिय आमसञ्चार माध्यमहरुमा क्याम्पसका विद्यार्थीहरुको पहुँच रहनु खुसीको विषय रहेको बताए । भविष्यमा पत्रकारहरु सम्बन्धित विषयमा विज्ञ र विशिष्टकृत हुन सक्नुपर्ने भएकोले आमसञ्चार शिक्षाको सान्दर्भिकता रहेको विचार राखे । निश्चित शिक्षा र योग्यताको आवश्यकता पत्रकारिता क्षेत्रमा रहेको पूर्वक्याम्पस प्रमुख सापकोटाको विचार थियो ।
त्यस्तै सप्तगण्डकी बहुमुखी क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख भूपेन्द्र खड्काले समाज बदल्नको लागि मर्यादित र जिम्मेवार पत्रकारको समाजलाई खाँचो रहेको कार्यक्रममा बताए । उनले भने, ‘ एकथरी पत्रकारले कोरोना पीडित चीनलाई गाली गर्न मात्र शक्ति र सामथ्र्य खर्च गरेको भन्दै सत्तालाई खुसी बनाउने भन्दा पनि गम्भीर खालको पत्रकारिता गर्नुपर्छ । अबका विद्यार्थीहरु सनसनीपूर्ण र भ्रमपूर्ण पत्रकारिता भन्दा पनि गम्भीर पत्रकारितातिर लाग्नुपर्छ ।’ त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार र पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले कक्षा कोठामा पढ्ने सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्न क्याम्पसमा यस्ता क्लबहरुको जरुरी रहेको विचार राखे । उनले भने, ‘विद्यार्थीले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउनको लागि हामी निरन्तर जुटिरहेका छौं ।’ विद्यार्थीमा नेतृत्वदायी क्षमता विकास गर्नको लागि यस्ता क्लबको परिकल्पना गरिएको उनले बताए । कार्यक्रममा सम्पूर्ण आमसञ्चार र पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको तर्फबाट स्नातक तह दोस्रो वर्षमा अध्ययरत मनिका विश्वकर्माले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष चन्द्रप्रकाश उपाध्यायले क्लबको गरिमा जोगाउँदै सबै विद्यार्थीलाई गोलबन्द गराउनमा अबको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा क्लबले कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु र सल्लाहकारहरुलाई मायाको चिनो पनि प्रदान गरेको थियो ।
सप्तगण्डकी आमसञ्चार क्लबको सल्लाहकार सदस्यमा प्राध्यापकका तर्फबाट कलेजका आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक मधुसूदन दवाडी, दिपेन्द्र अधिकारी र विधार्थीको तर्फबाट सुदिप दवाडी, रविना पौडेल, सुरक्षा न्यौपाने, चन्द्रप्रकाश उपाध्याय, सविना लामिछाने रहेका छन् । क्लबको संरक्षकको भूमिकामा क्याम्पस प्रमुख मणिराज महतो, साहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, नारायण रेग्मी र खीम दाहाल रहेका छन् ।

























