Breaking News
अनाथ बालबालिकाको सहारा बन्यो माडी नगरपालिका, खाद्यान्न व्यवस्थापनमा समस्या

प्रिती पोख्रेल
चितवन, फागुन २८
चितवनको माडी नगरपालिकाले नगरभित्र रहेका अभिभावकबिहीन तथा अतिविपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ ।
यसअघि स्थानीय सामाजिक अगुवाको पहलमा अनाथ तथा विपन्न ४२ बालबालिकाको पालनपोषण र शिक्षाको व्यवस्थापन गरिएकोमा यसवर्ष उनीहरुको जिम्मेवारी माडी नगरपालिकाले लिएको हो । माडी नगरपालिका–६ लक्ष्मी निवास स्थित नमुना छात्राबासमा २७ छात्रा र १५ छात्र आवासीयरुपमा बिगत लामो समयबाट अध्ययन गरिरहेका हुन् ।
माडीको कुसुमखोला, भालुखोला, बाँदरझुला, छरछरे, चितवनको पहाडी स्थान काउले र सिद्धिसम्मका बालबालिकालाई अहिले उक्त छात्राबासले संरक्षण गरेको छ । विभिन्न खाले सामाजिक क्रियाकलापमा सक्रिय स्थानीय समाजसेवी श्याम विष्ट, टिका आचार्य, टेकनारायण पाठक, मोतीलाल अधिकारी सम्मिलित एक टोलीले विसं २०६७÷६८ मा हेल्पिङ सोसाइटी नामक संस्था खोले र दर्ता पनि गरे । उक्त संस्थाको कार्ययोजना अनुरुप गाउँगाउँमा विशेष गरी चेपाङ समुदायमा हात धुने कार्यक्रम लगियो । यस अभियानका अगुवा टेकनारायण पाठक भन्छन् ‘फिल्डको क्रममा चेपाङ समुदायका बालबालिकाहरुको दयनिय दैनिकी देखेपछि, परिवर्तनका लागि हाम्रै घरमा नै व्यवस्थापन गरी बालबालिकालाई बोलाएर विभिन्न प्रकारको शिक्षामूलक जानकारी प्रवाह गर्ने कामको सुरुवात गरियो ।’ पछि फ्रान्सेली संस्थाका लुइच नामक व्यक्तिको आर्थिक सहयोगमा पहिलो पटक गणेश राई नाम गरेका बालकलाई आवासीयरुपमा शिक्षा लिने व्यवस्था मिलाइएको थियो । विभिन्न व्यक्तिहरु र संस्थाको सहयोगमा बालबालिकालाई आवसियरुपमा राखेर अध्ययन गर्ने व्यवस्थापन गर्ने काम हेल्पिङ सोसाइटीले मिलाउँदै आयो । छात्राबासमा आउने बालबालिकाको संख्या बढ्दै जान थालेपछि उनीहरुको लालनपोषणका लागि आर्थिक अभावसमेत हुदैँ गयो ।

माडी नगरपालिकाले शिक्षामा लगानीलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिरहँदा नगरका विपन्न र अभिभावकबिहीन बालबालिकाको शैक्षिक जिम्मेवारीसमेत नगरकै हो । यद्यपि उक्त जिम्मेवारी नगरपालिकाले लिई सकेको छ । ‘हाल माडी क्याम्पस कक्षा ११ मा अध्ययनरत रेखा चेपाङ छात्राबासमै बसी ३, ४ कक्षादेखि अध्ययन गरेकी हुन्’ पाठकले भने । अहिले यस परिवारमा नयाँ सदस्यको आगमन भएको छ । केही समय अघिमात्र अभिभावक पत्ता नलागेकी ३ वर्षीय बालिका अञ्जलीको जिम्मेवारी इलाका प्रहरी कार्यालय माडीले छात्राबासलाई नै दियो । उनीहरु हेल्पिङ सोसाइटीको कार्यालय भवनमा खाना बनाएर खान्छन् भने संस्थाका सदस्य टिका आचार्यको घरमा बास बस्छन् । यस वर्ष माडी नगरपालिकाले छात्राबासको जिम्मेवारी लिए लगतै मर्ज गरिएपछि खाली रहेको नवदुर्गा आधारभूत विद्यालयको भवनमा उनीहरुलाई स्थानान्तर गर्नेे भएको छ । नगरको करिब ३० लाख लागतमा भवनलाई बासबस्न योग्य बनाइदैँछ । छात्राबास व्यवस्थापन योजनाको निर्देशक समितिमा माडी नगप्रमुख ठाकुर ढकाल नै निर्देशक छन् ।
भौतिक व्यवस्थापनको काम भइरहँदा पछिल्लो समय खाद्यान्न, खान व्यवस्थापनमा भने समस्या हुने गरेको स्थानीय कुमारी पौडेलले बताइन् । ‘बाहिरबाट सहयोग नआएको खण्डमा हामी घरकै पनि खाना खुवाउँछौँ’ उनले भनिन् । व्यक्ति र संस्थाले कहिलेकाँही खाद्यान्न सहयोग गर्ने भए पनि नगरपालिकाको तर्फबाट पूर्णरुपमा योजना कार्यान्वय नभइसकेको हुँदा बालबालिकालाई पूर्ण पोषणयुक्त खाना भने मिल्न सकेको छैन । ११ कक्षा पढ्दै गरेकी रेखा चेपाङ आफ्नोसँगै अन्य बालबालिकाको खानपिन, स्वास्थ्य र शिक्षाको ख्याल राख्छिन् । तर, पर्याप्त पोषणयुक्त खाद्यान्नको भने कमी नै हुने गरेको उनको भनाइ छ । ‘सहयोग आउँदा दाल, भात तरकारी आएन दालभात खानै समस्या पर्छ रेखाले भनिन् ।’ ‘बढ्ने उमरेका ससाना भाइबहिनीलाई लत्ताकपडाको समेत अभाव छ’ उनले सम्झिन् । व्यक्ति र संस्था मार्फत् सहयोग आई रहे पनि अहिले बालबालिकाको खुवाइ र लगाइ पर्याप्त र सामान्य छैन । ‘अबका दिनमा भने माडी नगरपालिकाले हाम्रो राम्रो ख्याल राख्ने छ’ उनले विश्वास व्यक्त गरिन् ।
यस विषयमा अभिभावकत्व ग्रहण गरेको माडी नगरपालिकाले छिटै ध्यान दिँदै शिक्षा र आवास बाहेक बालबालिकाको खाना र दैनिक उपभोग्यमा समेत विशेष चासो राख्नुपर्ने देखिन्छ । यस कदमले विशेष योजना तय गरेर अनाथ र विपन्न बालबालिकाको सुन्दर भविष्य निर्माणको प्रयास थाल्ने माडी नगरपालिकाको निर्णयलाई न्याय गर्नेछ ।
























