देश/प्रदेश
कोरोनाको त्रासले चलचित्र‘नीरफूल’ को प्रदर्शन स्थगित

चितवन, फागुन २७-
कोरोनाको त्रासले नेपाली कथानक चलचित्र ‘नीरफूल’ को प्रदर्शन मिति स्थगित गरिएको छ ।
फागुन ३० गते प्रदर्शन गरिने भनेको चलचित्रको पदर्शन मीति सारेर चैत ७ मा सारेकोमा कोरोनाको त्रासले सरकारले भीडभाड नगर्न निर्देशन दिएकोले चलचित्र प्रदर्शन मिति स्थगित गरिएको हो । चलचित्रका निर्देशक, पत्रकार तथा साहित्यकार फूलमान बलले आज एक विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन तत्काललाई स्थगित गरिएको बारेमा जानकारी दिएका छन् । चैत ७ लाई नै केन्द्रमा राखेर ट्रेलर र नयाँ पोस्टर सार्वजनिक सँगै प्रचार–प्रसार अभियानसमेत जारी राखिरहेको बेला विश्वव्यापीरुपमा संक्रमण बढ्दै गइरहेको कोरोना भाइरसको त्रासले हामीलाई पनि गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ , ‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि ‘नीरफूल’ को सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं ।’ विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ । स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तिमा जनाइएको छ ।
























