चितवन विशेष
सहिद पौडेल स्मृति राष्ट्रिय पुरस्कार साहित्यकार भूपिनलाई

चितवन, फागुन २७-
चितवनका सहिद शिवप्रसाद पौडेल राष्ट्रिय पुरस्कार कवि, निबन्धकार तथा उपन्यासकार भूपेन्द्र खड्का ‘भूपिन’ लाई प्रदान गरिने भएको छ ।
साहित्य संगम चितवनले यस वर्षको पुरस्कार भूपिनको उपन्यास ‘मैदारो’ लाई दिने निर्णय गरेको जनाएको छ । १० हजार रुपैयाँ राशीको पुरस्कार वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आक्रमणमा परी मारिएका विद्यार्थी नेता शिवप्रसाद पौडेलको स्मृतिमा स्थापना गरिएको हो । पुरस्कार प्रदान गर्ने घोषणा भएसँगै कवि भूपिनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘ जसले देशको लागि छोरा नै चढाउनु भयो, उहाँहरुले सहिद पुत्रको नाममा स्थापना गरेको पुरस्कारको लागि ‘मैदारो’ छनौट भएको कुराले खुसी र भावुक दुवै भएको छु ।’
उनले यो पुरस्कारबाट आउने १० हजार रुपैयाँ मैदारो उपन्यासमा चित्रित दलित बस्तीस्थित नमुना स्कुलका नानीहरुलाई अर्पण गर्ने घोषणा पनि गरेका छन् । भूपिनले भनेका छन्, ‘सायद सहिद शिव पौडेलहरुको सपना पनि विभेदको पाटेभीरमा अड्किन अभिशप्त यस्तै नानीहरुको जीवनमा परिवर्तन ल्याउनु थियो ।’ वाग्लुङको बलेवामा जन्मिएका भूपेन्द्र खड्का ‘भूपिन’ का आधा दर्जन कविता, निवन्ध र उपन्यासका कृतिहरु प्रकाशित छन् । उनको उपन्यास मैदारो वाग्लुङकै सेरोफेरोमा रहेको दलित बस्तीको कथामा आधारित रहेको छ । यो पुरस्कार चैत १ गते हस्तान्तरण गर्ने साहित्य संगम चितवनले जनाएको छ ।

























