Breaking News

देवघाटमा बैशाख १ गतेदेखि रातीको समयमा दाहासंस्कारमा रोक

Banner

चितवन,फागुन २२-

देवघाटमा राती समयमा दाहासंस्कारमा रोक लगाइने भएको छ । आगामी बैशाख १ गते देखि राती १० बजेबाट विहान ४ बजेसम्म दाहासंस्कार गर्न रोक लगाइने भएको हो । देवघाट क्षेत्र विकास समितिको आज (विहिबार) बसेको बैठकले रातीको समयमा दाहासंस्कार गर्न रोक लगाउने निर्णय गरेको अध्यक्ष शिवराज पौडेलले बताए । देवघाट स्थित कालिगण्डकी र त्रिशुली नदीको संगम वेणीमा देशभरबाट अन्तिम संस्कार गर्न शव ल्याउने गरिन्छ । संगममा दैनिक १० जना दाहासंस्कार गर्ने गरिएको पौडेलले जानकारी दिए । त्यसमध्ये महिनामा ४/५ जनाको रातीको समयमा दाहासंस्कार हुने गरेको उनले बताए ।

पशुपती आर्यघाट पछि सबैभन्दा धेरै दाहासंस्कार गर्ने घाटको रुपमा देवघाटलाई लिइन्छ । केही महिनाअघि देवघाटमा रातीको समयमा दाहासंस्कार गर्न ल्याईएका एक बालक जिवितै भेटिएपछि क्षेत्र विकास समितिले यस्तो निर्णय गरेको पौडेलको भनाई छ । शंकास्पद मृत्यु र हत्याको घटनाको पनि रातीको समयमा नै दाहासंस्कार गर्न ल्याउने सूचना पाएपछि आफुहरुले धेरै पटक प्रहरीलाई खबर समेत गरेको अध्यक्ष पौडेलले बताए । देवघाटमा दाहासंस्कार गर्न ल्याउने मृतकको नजिकका आफन्तले मृत्यु सम्बन्धी फारम भर्नु पर्ने हुँदा रातीको समयमा कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या भइरहेको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताए ।

राती १० बजेपछि घाटमा आईपुग्नेहरुको लागि नदी किनारमा घाट घरको व्यवस्थापन गरिने अध्यक्ष पौडेलले बताए । बैठकमा सहभागी तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र चितवनका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराईले कतिपय शंकास्पद मृत्युहरु हतार–हतार रातीको समयमा नै दाहासंस्कार गरिहाल्ने र प्रमाण मेटिने भएको कारण पनि रातीको समयमा दाहासंस्कार गर्न रोक लगाउनु उचित हुने धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>