मकवानपुर

मकवानपुरकी अजिता भुजेलको हत्या आरोपीलाई थुनामा राख्न आदेश

Banner

हेटौँडा,  फागुन १९-

जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उक्त अदालतले भुजेलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा–१४ बस्ने २१ वर्षीय हम्चर भनिने बुद्ध लामा, हेटौँडा–९ बस्ने १८ वर्षीय भापु भनिने सिमोन परियार तथा हेटौँडा–४ का घनटाउके भनिने सुशील थापा मगर र सोनम गोलेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला न्यायाधीश कमलराज विष्टको आजको एकल इजलासले उक्त आदेश दिएको हो । गत माघ ४ गते बिहान हेटौँडा–५ क्याम्पाडाँडामा भुजेलको शव फेला परेको थियो । भुजेललाई रकम लेनदेनको विवादको कारण आरोपितले तारले घाँटी च्यापेर हत्या गरिएको प्रहरीसँग साविती बयान दिएका थिए ।

यसैगरी जिल्ला अदालतले हेटौँडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई हत्याको आरोपमा रु एक लाख धरौटीमा लिई रिहा गर्न आदेश दिएको थियो । पाख्रिनले तत्काल रु एक लाख धरौटी बुझाउन नसकेपछि उनलाई चितवन जिल्ला कारागारमा थुनामा राख्न चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार केशवराज कौशिकले बताए।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>