क्रिकेट
इपीएलः टिम डेभिड र जेम्स फुलरलाई अनुबन्ध गर्दै चितवनले पुरा गर्यो विदेशी कोटा

चितवन, फागुन १८–
एभरेष्ट प्रिमीयर लीग (इपीएल) को टिम चितवन टाइगर्सले विदेशी खेलाडीको कोटा पुरा गरेको छ । चितवनले सिंगापुरका टिम डेभिड र न्यूजिल्याण्डका जेम्स फुलरलाई अनुबन्ध गर्दै विदेशी कोटा पुरा गरेको हो ।
चितवनले अनुबन्ध गरेको टिम हाल सिंगापुरबाट खेल्दै आएका छन् । उनले नेपालविरुद्धको खेलमा अर्धशतक समेत बनाएका थिए । उनी अष्ट्रेलियामा विश्वविद्यालयस्तरीय क्रिकेट खेलेका थिए । यस्तै फुलर न्यूजिल्याण्डबाट क्रिकेट खेल्दै आएका छन् । दक्षिण अफ्रिकामा जन्मिएका फुलर यु १९ क्रिकेटमा न्यूजिल्याण्डका मुख्य खेलाडी थिए । फुलरले व्यवसायिक क्रिकेट भने इङल्याण्डबाट खेल्दै आएका छन् । इङल्याण्डको काउन्टी क्रिकेट खेल्दै आएका छन् । फुलर अलराउण्डर हुन् । दायाँ हाते व्याट्सम्यान फुलर दायाँ हाते तीव्र गतिका बलर समेत हुन् । यी दुई खेलाडीको अनुबन्धसंगै चितवन बलियो टिम बनेको चितवन टाइगर्सकी निर्देशक विनिता चौधरी भट्टराईले बताइन् ।
चितवन टाइगर्सले यसअघि नै अफगानिस्तानका विष्फोटक व्याट्सम्यान मोहम्मद सहजाद र आयरल्याण्डका विष्फोटक व्याट्सम्यान पउल स्टर्लिङलाई अनुबन्ध गरि सकेको छ । यसपटक चितवनको मार्की प्लेयरमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । चितवनले काठमाडौंलाई दीपेन्द्र सिंह ऐरीलाई दिएर सोमपाललाई भित्र्याएको छ । चैत १ गतेदेखि सुरु हुन लागेको प्रतियोगितामा चितवनले पहिलो खेल चैत २ गते पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्ससंग खेल्दैछ ।
























