चितवन विशेष
शीर्ष नेताहरुबाट देश चल्दैनः काँग्रेस नेता चन्द्र भण्डारी

चितवन,फागुन १७-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ठूला पार्टीका शीर्ष नेताहरुलाई ‘बाँदरहरूको झुण्ड’को उपमा दिएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले अहिलेका नेताबाट देशको हितमा कुनै पनि काम हुन नसक्ने जिकिर गरे ।
‘यी सबै ठूला पार्टी शीर्ष नेताहरूको हविगत देखिसकियो, जनताले पनि देखे, यी सबैको क्यारेक्टर एउटै हो, यिनीहरूबाट देश चल्दैन, चलाउन पनि सक्दैनन,’ नेता भण्डारीले आक्रोशित हुँदै भने, ‘यिनले आफ्ना सन्तानलाई पुग्ने कमाए, ठूलठूला दरबार बनाए, आफन्तलाई जागिर लगाए, पोस्नुसम्म पोसे, अझै यिनकै झगडा हेरेर बस्नुपर्ने ? अहिलेका युवा फाइभ–जीका छन, नेता वान–जीका छन् अनि कसरी मिल्छ ?’
नेता भण्डारीले मन्त्री र सांसद बाँड्ने कांग्रेसका नेता नेविसंघका लागि झगडा गरेर बसेको भन्दै कटाक्ष गरे । उनले त्यस्ता नेताहरुलाई बलपूर्वक भए पनि विदा गर्नुपर्ने बताए । उनले भने, ‘यस्ता नेतालाई कुनै पनि हालतमा फाल्नुपर्दछ, सकेसम्म फकाएर फाल्ने हो, नमाने जनताको बलमा बिदाइ गर्नुपर्दछ ।’
नेकपा उपाध्यक्ष बामदेव गौतमका विषयमा किचलोलाई उनले लज्जाको विषय भएको बताए । ‘म पनि हारेको मान्छे हुँ, पाँच वर्ष म संसदमा जान मिल्दैन, बाहिर बस्नु भनेका छन् जनताले,’ नेता भण्डारीले भने, ‘एउटा हारेको व्यक्तिलाई सांसद बनाउनुप¥यो भनेर यत्रो रमिता गर्ने ? संविधान संशोधन गरेर सांसद र प्रधानमन्त्री बनाउनुपर्ने ?’
























