चितवन विशेष
पौडेलको अनशनमा थाकस चितवनले जनायो ऐक्यवद्धता

चितवन, फागुन १२–
माडीका जनताहरुको तर्फबाट विभिन्न माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका माडी वडा नं.१ का वडाअध्यक्ष कृष्ण पौडेलको अनशनमा थारु कल्याणकारिणी सभा (थाकस) जिल्ला कार्यसमिति चितवनले ऐक्यवद्धता जनाएको छ ।
जिल्ला सभापति ललितकुमार चौधरी र सचिव नन्दलाल चौधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा पौडेलको आन्दोलन प्रति समर्थन र ऐक्यवद्धता जनाइएको हो । विज्ञप्तीमा भनिएको छ, ‘चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपश्चात थारु लगायत माडीवासीले सुविधा पाउन कहाँ कहाँ दैनिक जसो जङ्गली जनावरबाट आतङ्क तथा सदरमुकाम आवतजावतमा भोग्नुपर्ने दुःख, पीडा हामी थारुलगायत माडीवासीले नेपाल सरकारसँग गराउँदा गराउँदै हालसम्म पनि आश्वासन बाहेक माडीवासीकोे निकाश तथा आवाज कतैबाट सुनिएन ।’
विभिन्न समस्यहरुको दीर्घकालीन समाधानका लागि माडी १ का वडाध्यक्ष कृष्ण पौडेलले फागुन ७ गतेबाट आमरण अनशन बसेकोमा थारु कल्याणकारिणी सभाको समर्थन र ऐक्यवद्धता रहेको बताइएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, ‘तसर्थ उहाँको जीवन रक्षाको माग गर्दै उहाँ लगायत माडीवासीको तर्फबाट माग गरिएको जायज मागहरु नेपाल सरकारको तर्फबाट संशोधन गरी साथै राजनीतिक मागहरु राजनीतिक तवरबाट उहाँले उठाएको माग, मुद्दा यथाशीघ्र पुरा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

























