चितवन विशेष
वैवाहिक वर्षगाँठमा महतोद्धारा विद्यालयलाई सहयोग

चितवन, फागुन १२–
पछिल्लो समय विभिन्न वर्षगाँठलार्इ विशेष उत्सवको रुपमा मनाएर महंगो खर्च गर्ने प्रचलन बढ्दै गएको छ । वर्षगाँठ (म्यारिज एनिभर्सरी)को नाममा साथीभाई इष्टमित्र जम्मा गरेर केक काट्ने रमाउने चलन छ । तर पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नं ७ का रमुना महतो र बुधनी कुमारी थरुनीले ३५औ वैवाहिक वर्षगाँठको अवसरमा एक विद्यालयलाई आवश्यक पर्ने समग्री सहयोग गरेका छन् ।
रत्ननगरमा रहेको ॐ शान्ती राष्ट्रिय आधारभूत विद्यालयलाई दुई थान ह्वाइट बोर्ड, बोर्ड मार्कर, डस्टर, ग्यास सिलिन्डर, ग्यास चुलो, १२ मिटर कार्पेट सहयोग गरेका हुन् । सो सामग्री महतो र श्रीमती बुधनीले सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाइ हस्तान्तरण गरेका हुन् ।

अहिलेको समयमा अझै पनि दाउराले चिया र खाजा पकाउदै गरेको देखेर ग्यास चुलो लगाएत अन्य सामग्री विद्यालयलाई सहयोग गरेको महतोका छोरा सरद कुमार महतोले बताए ।
कार्यक्रममा सरस्वती नेपालका डा वसन्तले यस्ता किसिमको सहयोगले विद्यालयको शैक्षिक गुणस्तरमा थप टेवा पुग्ने बताए । विद्यालयलाई आवश्यक पर्ने सामग्री सहयोग गरेकोमा महतो दम्पतीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर चौधरीले धन्यबाद दिनुका साथै सबैलाई सहयोग गर्नको लागि आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सह–सचिव सन्तकुमार चौधरी, इन्टरनेशनल मोडेल सेकेण्डरी स्कुलका प्राचार्य धनविर चौधरी, होटल पार्क इनका दिपेश चौधरी, सुरेश चौधरी, सूर्य चौधरीलगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन ॐ शान्ती राष्ट्रिय प्राथमिक विद्यालयकी प्राचार्य राधा चौधरीले गरेकी थिइन् । सो विद्यालयमा हाल १२५ विद्यार्थी अध्ययनरत छन् ।


























