चितवन विशेष
चितवनका घिमिरे बने चार्टर एकाउन्टेन्ट संघको कोषाध्यक्ष

चितवन, फागुन ११-
नेपालका चार्टर एकाउन्टेन्टहरुको साझा संस्था नेपाल चार्टर एकाउन्टेन्ट संघको कोषाध्यक्षमा चितवनका सुशिल घिमिरे निर्वाचित भएका छन् ।
घिमिरेले खसेको एक हजार ६१७ मत मध्ये ८७३ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उम्मेदवारलाई घिमिरेले १५४ मतले पराजित गरेका छन् । ए क्यानको अध्यक्षमा काठमाडौंका आनन्द शर्मा वाग्ले विजयी भएका छन् । ए क्यानमा दुई हजार ४०० सदस्य रहेका छन् । दश वर्षअघि भारतबाट सीए उत्तीर्ण गरेका घिमिरे विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
व्यक्तिगत सम्बन्धका कारण घिमिरेको समूहबाट थोरै संख्यामा मात्र निर्वाचित हुँदा समेत उनी विजयी हुन सफल भएको जिल्लाका सीए सन्तोष रेग्मीले जानकारी दिए । उनले भने, ‘सामाजिक क्षेत्रमा उहाँको सहभागिताका कारण बनेको सम्बन्धले गर्दा विजयी हुनुभएको हो ।” नवनिर्वाचित घिमिरेले संस्थाको गरिमा उच्च राख्ने काम आफूले गर्ने बताए । उनले संस्थालाई प्रादेशिक रुपमा लैजान कार्यसमिति लाग्ने जानकारी दिए ।
























