चितवन विशेष
चितवन कांग्रेसले भन्योः माडीमा अनशनरत वडा अध्यक्ष पौडेललाई बचाऊ

चितवन, फागुन १०-
नेपाली कांग्रेस चितवनले माडीबासीको माग सम्बोधन गर्दै आमरण अनसनरत माडी नगरपालिका–१ का वडाध्यक्षको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
आज सभापति जितनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली कांग्रेस चितवनले माडीबासीको माग सम्बोधन आमरण अनशनरत वडाध्यक्षको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको हो ।
निकुञ्ज तथा वन संरक्षण ऐनमा संशोधनको माग गर्दै आमरण अनसनरत वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था बिग्रदै गएको नेपाली कांग्रेस चितवनले जनाएको छ । ‘विभिन्न माग राखी अनशनरत नेपाली कांग्रेसका स्थानीय नेता एवम् माडी नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको स्वास्थ्य कमजोर बन्दै गइरहेको हुँदा जनसमुदायको समस्या प्रति सरकारकै अग्रसरतामा समस्या समाधान गरी अनसनरत पौडेलको जीवन रक्षा गर्न सरकारसँग समक्ष जोडदार माग गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तै कांग्रेस चितवनले माडीबासीको माग प्रति सरकार गम्भीर नभए कडारुपमा प्रस्तुत हुने चेतावनीसमेत दिएको छ ।’
कांग्रेस चितवनले माडीबासीको तर्फबाट आमरण अनशनरत वडाध्यक्षको मागप्रति सरकार गम्भीर नभएको भन्दै आज दिउँसो एक घण्टा चक्का जाम गरेको थियो । अनशनस्थल माडी नगरपालिका १ को वडा कार्यालय अगाडिको हुलाकी सडकमा एक घण्टा चक्का जाम गरेको थियो ।
निकुञ्ज ऐन–२०२० संसोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, मानव र वन्यजन्तुको द्वन्द्व निवारणका लागि ठोस् रुपमा वन र मानव बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने रिउ खोला करिडोरको निर्माण व्यवस्थित गर्नुपर्ने, लागत तथा उत्पादनको आधारमा क्षेतिपूर्ति व्यवस्था गर्नुपर्नेलगायतको माग राख्दै वडाध्यक्ष पौडेल चार दिनदेखि आमरण अनशनमा रहेका छन् । अनशन बस्ने घोषणा गरेका मेयर ठाकुरप्रसाद ढकाल पछि हटेपछि पौडेलले माडीबासीको तर्फबाट अनशन सुरु गरेका हुन् । निकुञ्ज तथा वन संरक्षण ऐन संशोधन नभएसम्म माडीले विकासको गति लिन नसक्ने भन्दै उनले अनसन सुरु गरेका हुन् ।

























