चितवन विशेष
चितवनमा मनाईयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

चितवन, फागुन ७–
आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस, चितवनमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसकै अवसरमा आज (बुधबार) प्रभातफेरी निकालिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, जिल्ला समारोह समितिको आयोजनामा विहान भरतपुरमा प्रभातफेरी निकालिएको हो ।
भरतपुरको चौविसकोठीबाट निश्किएको प्रभातफेरी जिल्ला समन्व्य समितिको कार्यालयमा पुगी समापन भएको थियो । प्रभातफेरीमा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी, सेनालगायतको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समितिको कार्यालयमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण डल्लाकोटी, उपाध्यक्ष मुना श्रेष्ठ, नेकपाका नेता बद्री तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सचिव राजीव न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुले शहिदहरुलाई माल्यापर्ण गरेका थिए ।
एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

































