चितवन विशेष

रत्ननगर १४ बन्यो बालमैत्री वडा

Banner

चितवन, फागुन ६–

पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्वर १४ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

आवश्यक ३९ वटा सूचकहरु पुरा गरी वडालाई मंगलबार बालमैत्री घोषणा गरिएको हो । पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । पूर्वअर्थमन्त्री पाण्डेले वडा अध्यक्ष हरिकुमार श्रेष्ठलाई घोषणा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेबार बन्नु पर्ने बताए । ‘बालमैत्री घोषणासँगै चुनौती थपिएको छ’ पाण्डेले भने ‘कुनै पनि बहानामा बालबालिकाहरु शोषणको चपेटामा पर्नु भएन ।’ पूर्वअर्थमन्त्री पाण्डेले सरकारी विद्यालयमा शिक्षाको चुनौती रहेको भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । प्रदेश सांसद कृष्णप्रसाद खनालले पूर्ण बाल अधिकार सहितको नगर मात्र नमुना नगर बन्ने बताए ।

कार्यक्रममा नगर प्रमुख नारायण वनले रत्ननगरलाई निकट भविश्वमै बालमैत्री घोषणा गरिने बताए । उनले नगरभित्रका बालबालिकाको शिक्षालाई प्रभावकारी बनाउन सामुदायिक विद्यालयलाई बलियो बनाइने बताए ।

कार्यक्रममा वडाध्यक्ष हरिकुमार श्रेष्ठले बालबालिकालाई श्रममा लगाउनेलाई कानुनी कारवाहीसंगै सामाजिक बहिस्कार गर्ने बताए । उनले घोषणा कार्यान्यनको लागि तीन वर्षे रणनीतिक योजना बनाइएको बताए ।

कार्यक्रममा वडा सदस्य तथा बाल संरक्षण समितिकी सदस्य गीता दाहालले बालमैत्री वडा घोषणाको लागि गरिएका कामको प्रगति वितरण प्रस्तुत गरेकी थिइन । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघले वडा स्तरीय बाल क्लवलाई खेलकुदका सामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुले बालश्रम विरुद्ध सामूहिक हस्ताक्षर समेत गरेको बालसंरक्षण समितिकी सदस्य तथा मञ्च व्यवस्थापन समितिकी संयोजक विष्णु भण्डारी कट्टेलले जानकारी दिइन् ।

कार्यक्रममा पूर्व सांसद एकनाथ रानाभाट, शेषनाथ अधिकारी, नगर उपप्रमुख विमला दुवाडी, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, सेवा प्रदायक संस्था रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नेकपाका बासु लामिछाने, नेपाली काँग्रेसका रुपनराज घिमिरे लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय बाल क्लबका अध्यक्ष सहज खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव बासुदेव रिजालले सञ्चालन गरेका थिए । घोषणा सभा सुरु हुनुपूर्व जनजागृती माविबाट शोभायात्रा निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>