खेलकुद
चितवनको सौराहामा पर्यटक आकर्षित गर्न गल्फ कोर्ट बनाइँदै

चितवन, फागुन ६-
नेपालकै मुख्य पर्यटकीय गन्तव्य मानिएको सौराहामा पर्यटकलाई लक्षित गरेर गल्फ खेलाउँने तयारी गरिएको छ ।
पर्यटकलाई नयाँपन दिनको लागि यो खेलतर्फ सौराहाका सामुदायिक वन र होटल व्यवसायीको ध्यान गएको हो । क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले खेल पर्यटनलाई प्रवद्र्धन गर्नका लागि गल्फ खेलाइने योजना बनाइएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘विश्वका धनाढ्य पर्यटकले खेल्ने यो खेल सौराहाको चित्रसारीमा खेलाइने योजना बनेको छ । पर्याप्त र आकर्षक ठाउँ पनि भएकोले ९ होल पुग्ने गरी गल्फ खेलाउने काममा सबै अग्रसर भएका छौं ।’ धेरै वर्षअघि देखि सञ्चालन गरिएको हात्ती सफारीको विकल्पमा पर्यटकलाई नयाँ प्रोडक्ट दिनको लागि यस्ता खेलहरु अनिवार्य हुने उनको विचार थियो ।
सौराहामा गल्फ सञ्चालनका लागि त्यस क्षेत्रका सामुदायिक वनले पनि सबैसँग छलफल गरी कार्ययोजना नै निर्माण गरिसकेका छन् । स्थानीय वागमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनले सो कार्ययोजना निर्माण गरेका हुन् । वागमारा सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले वनको कार्ययोजनामा गल्फलाई निकै प्राथमिकताका साथ राखिएको बताए । उनले भने, ‘स्तरीय पर्यटकलाई सौराहामा भित्र्याउँनको लागि वनले ६ बिघा जग्गा उपलब्ध गराएर गल्फ खेलाउने योजनामा छौं ।’ सामुदायिक वन र व्यवसायी सबैजना सकारात्मक भएकोले पनि यो योजना छिट्टै साकार हुने उनको विचार छ ।

विश्वका प्रायःजसो देशमा खेलिने भए पनि गल्फ खेलले नेपालमा भने त्यति चर्चा बटुल्न सकेको छैन । खेल्नका लागि ठूलै क्षेत्रफल आवश्यक पर्ने हुनाले जहाँतहीं यो खेल्न सहज पनि हुँदैन । गल्फ खेलको इतिहास निकै लामो छ । विश्वकै धनाढ्य खेलाडीले गल्फ खेल्दै आएका छन् । केही समययता नेपालमा पनि केही ठूला व्यापारिक संस्थाको सक्रियताले नेपालमा गल्फ प्रतियोगिताको आयोजना पनि बढ्दै गइरहेको छ । १५औं शताब्दितिर स्कटल्यान्डबाट खेल्न थालिएको गल्फ खेल बच्चादेखि वृद्धसम्म सबै उमेर समूहले खेल्न सक्ने खेल हो ।
गल्फ खेलको विकास गर्न सके नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सौराहाका व्यवसायीहरुको भनाइ छ । विशेषगरी, विदेशका विभिन्न मुलुकमा यो खेल बढी खेलिने हुँदा नेपालमा पनि यसको विकास गर्न सके विदेशी खेलाडीको नेपालप्रतिको दृष्टिकोण अझ बढ्दै जाने सबैको बुझाइ छ । नेपालमा काठमाडाँै, पोखरा, झापा, नवलपुरलगायतका सीमित जिल्लामा मात्रै गल्फ खेल्ने मैदान भएकाले चितवनमा समेत मैदान निर्माण गर्नु आवश्यक रहेको छ । यो खेल ९ र १९ होलमा खेल्न सकिन्छ ।
फाइल तस्विर
























