चितवन विशेष

काठमाडौंपछि भरतपुरको विद्युत वितरण भूमिगत बनाइने, अध्ययन थालियो

Banner

चितवन,फागुन ६-

नेपाल विद्युत प्राधिकरणले भरतपुरको विद्युत वितरण प्रणाली भूमिगत बनाउने भएको छ । प्राधिकरणले राजधानीपछि उपत्यका बाहिरका मुख्य सहरको वितरण प्रणाली पनि भूमिगत बनाउने तयारी गरेको हो । पहिलो चरणमा भरतपुरको विद्युत प्रणाली भूमिगत गरिनेछ । प्राधिकरणले भरतपुरलाई काठमाडौंपछि पहिलो प्राथमिकतामा राखेको छ,भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले भने,अध्ययन भइरहेको छ । उनले काठमाडौंबाट प्राविधिको टिम आएर एक÷दुई चरणमा सर्भे गरिसकेको बताए । पहिलो चरणमा भरतपुरका मुख्य राजमार्गमा विद्युत वितरण भूमिगत गराइने महतोले जानकारी दिए ।

ठूला सहरका मुख्य सडकको वितरण प्रणाली भूमिगत गर्न अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार वितरण प्रणाली दिगो, भरपर्दो र स्वचालित बनाउन यी सहरको वितरण लाइन भूमिगत गर्न लागिएको हो ।

‘विद्युतको माग बढिरहेकाले वितरण प्रणालीको क्षमता बढाउनु पर्ने चुनौती छ ,’ उनले भने,‘ २० वर्षपछिको माग प्रक्षेपण गरेर भूमिगत लाइन निर्माण गरिने हुँदा माग व्यवस्थापन गर्न सहज हुन्छ ।’ बढ्दो माग व्यवस्थापन गर्न सहरमा ओभर हेड लाइन निर्माण गर्ने ठाउँ नै नभएकाले भूमिगत प्रविधिमा जानुपरेको उनले बताए ।

‘विकसित मुलुकको वितरण प्रणाली भूमिगत छ । हामीले पनि ठूला सहरमा यो प्रविधि अपनाउन आवश्यक देखिएको छ’ उनले भने । सुरुमा ठूला सहरका मुख्य सडकको वितरण लाइनलाई भूमिगत गर्ने तथा भित्री सडकका ओभरहेड लाइनलाई स्तरोन्नति गरेर सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

भूमिगत वितरण लाइनलाई स्वचालित बनाउन ‘फिल्ड रिमोट टर्मिनल युनिट’ जडान गरिनेछ । स्वचालित वितरण प्रणाली नियन्त्रण गर्न नियन्त्रण कक्ष पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पहिलो पहिलो पटक राजधानीका महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको प्रणाली भूमिगत बनाउन सुरु गरेको छ । बानेश्वर, कुलेश्वर, बालाजु, जोरपाटी र किर्तिपुर वितरण केन्द्रको प्रणाली पनि भूमिगत बनाउन बोलपत्र मुल्याङ्कन भइरहेको प्राधिकरणले जनाएको छ । अबको ४ बर्षभित्र काठमाडौं उपत्यकाको प्रणाली भूमिगत गरिसक्ने प्राधिकरणको लक्ष्य छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>