चितवन विशेष
सप्तगण्डकीमा प्राध्यापकले ‘माया’ लाई परिभाषित गर्दा विद्यार्थीको हुटिङ

चितवन, फागुन ३-
भ्यालेन्टाइन डेको अवसरमा शुक्रबार भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा ‘मायाको परिभाषा’ बारे छलफल भएको छ । प्राध्यापकहरुले मायालाई परिभाषित गरिरहँदा विद्यार्थीहरुले तालीसँगै हुटिङ गरे ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले गरेको ‘भ्यालेन्टाइन विशेष कार्यक्रम’ मा विद्यार्थीहरु र प्राध्यापकले मायाको अर्थबारे बहस गरेका हुन् । आमसञ्चार अध्ययनरत विद्यार्थी कल्पना चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा कवि, निवन्धकार तथा उपन्यासकार भूपेन्द्र खड्का ‘भूपिन’ ले माया सृष्टिको सबैभन्दा सुन्दर उपहार भएको विचार राखे । उनले भने,‘ मायामा बिग्रने, फस्ने हुँदैन र माया एकोहोरो मात्र हुँदैन । कुनै स्वार्थ राखेर माया गरिँदैन । माया दिनु मात्र हो, लिनु होइन । विश्वको आश्चर्यहरु मध्ये एक बनेको ताजमहल मायाको नै निशानी हो भन्दै कवि भूपिनले तत्कालिन शासकले रानीको मायामा सुन्दर ताजमहल बनाए पनि गरिबहरुले पनि माया भने दिन सक्ने विचार राखे । उनले भने, ‘मायाको अन्तिम लक्ष्य विवाह वा यौन मात्र होइन, यसलाई विवाहसँग कुनै तुलना नै हुँदैन ।’
चितवनका अर्का अंग्रेजी कवि विश्व सुवेदीले पनि मायालाई एक हप्तासम्म परिभाषित गरेर पनि कुनै सम्भव नहुने विचार राखे । उनले भने, ‘माया असिमित छ, यसलाई जति व्याख्या र परिभाषित गरे पनि सकिँदैन ।’ कवि सुवेदीले माया एउटा अनुभव हो यसको व्याख्या र परिभाषा व्यक्तिअनुसार फरक फरक हुने विचार राखे । कार्यक्रममा उनले आफ्नो कविता संग्रह ‘वाइल्ड डान्स’ बाट एउटा प्रेम कविता पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा आमसञ्चार विषयका प्राध्यापक मधुसूदन दवाडीले क्याम्पसमा भ्लेन्टाइन डेको दिनमा गरिने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको व्यक्तित्व विकासमा सहयोग पुग्ने विचार राखे ।
आमसञ्चारकी विद्यार्थी वर्षा पुन मगरले सञ्चालन गरेको कार्यक्रममा अस्मिता घिमिरे, रिता भुजेल, अनिकेत खनाल, प्रोक्षा सापकोटा, विष्णु गौतम, प्रमिशा भण्डारी, प्रिया विश्वकर्मा र श्याम विश्वकर्माले गीत, गजल र मुक्तकमार्फत् प्रेमलाई परिभाषित गर्न खोजेका थिए । कार्यक्रममा समाजशास्त्रकी प्राध्यापक लक्ष्मी पोखरेल र आमसञ्चार विषयका प्राध्यापक दिपेन्द्र अधिकारीको सहभागिता रहेको थियो ।

त्यसैगरी शुक्रबार नै भएको भ्यालेन्टाइन डे दोस्रो शत्रको कार्यक्रम क्याम्पसमा दिउँसो १ बजेबाट सुरु भएको थियो । आमसञ्चार विषयमा कक्षा ११ मा पढ्ने विद्यार्थीहरुले गरेको कार्यक्रममा विद्यार्थीहरुले प्रेमबारेमा गीत, कविता, गजल र कथा प्रस्तुत गरेका थिए ।
दोस्रो शत्रको कार्यक्रममा नेपाली साहित्य विषयकी प्राध्यापक प्रभा मरहट्टाले भ्यालेन्टाइन धेरै विकृतिको रुपमा अगाडि बढेको विचार राखिन् । कक्षा ११ का विद्यार्थी सुमन प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक मधुसूदन दवाडीले मायालाई केटाकेटीको सम्बन्धको रुपमा मात्र नबुझेर खुसी, सन्तुष्टी र सकारात्मक भावनाको रुपमा बुझ्न सल्लाह दिए । एन्जिला चौलागाईले सहजीकरण गरेको कार्यक्रममा सुस्मा भुजेल, विकास खड्का, मिलन न्यौपाने, सन्तोष राई, सन्तोष पुडासैनी, रुपेस श्रेष्ठ र अभिषेक रानामगरले आफ्नो प्रस्तुति दिएका थिए । सप्तगण्डकी क्याम्पसमा शुक्रबार सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरु एक आपसमा भ्यालेन्टाइन डेको शुभकामना साटासाट गर्नमा नै व्यस्त देखिन्थे । आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले हरेक वर्ष भ्यालेन्टाइन डेको दिनमा विशेष साहित्यिक कार्यक्रम गर्दै आएका छन् ।


























