चितवन विशेष

चितवनको पटिहानीमा आकर्षक अम्ब्रेला स्ट्रिट,प्रचण्डद्धारा उद्घाटन

Banner

चितवन,फागुन १-

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको पटिहानीमा निर्माण गरिएको अम्ब्रेला स्ट्रिट बिहीबार उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अम्ब्रेला स्ट्रिटको उद्घाटन गरेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर २२ ले अम्ब्रेला स्ट्रिट निर्माण गरेको हो । पटिहानी क्षेत्रको प्रवद्र्धनका लागि करिब तीन करोड रुपैयाँको लागतमा अम्ब्रेला स्ट्रिट निर्माण गरिएको वडा अध्यक्ष विष्णुराज महतोले बताए ।

करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रङ्गीन छाता राखिएको छ । रङ्गीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ ।  अम्ब्रेला स्ट्रिटको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पटिहानी क्षेत्रको पर्यटन प्रवद्र्धनमा अम्ब्रेला स्ट्रिटले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सरकारको नयाँ पर्यटकीय गन्तव्य भित्रमा परेसँगै यहाँको पर्यटन विकासमा थप टेवा पुगेको बताए ।

यस्तै अम्ब्रेला स्ट्रिटको प्रचारप्रसारका लागि पहिलोपटक स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्दै पटिहानी फूड फेस्टिबल आयोजना गरिएको छ । फूड फेस्टिबल पनि बिहीबार दिउँसोबाट सुरु भएको हो ।  फूड फेस्टिबलमा २० वटा स्टलहरु रहेका छन् । स्टलहरुमा स्थानीय खानाका परिकारलाई जोड दिइएको फूड फेस्टिबल प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिए । फूड फेस्टिबल फागुन ३ गतेसम्म चल्ने छ ।

फेस्टिबलमा साङ्गीतक कार्यक्रम समेत आयोजना गरिएको छ । बिहीबार पहिलो दिन गायक मिलन लामा, टिका सानु, स्मिता दाहालले प्रस्तुति दिएका छन् । यस्तै दोस्रो दिन शुुक्रबार पशुपति शर्मा, दुर्गेश थापा, सागर आले, साजन आले र दिने काफ्लेको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

फेस्टिबलको अन्तिम दिन शान्तिश्री परियार र कटाब ब्याण्डको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक सेढाईले जानकारी दिए । पटिहानी क्षेत्रमा आउने पर्यटकका लागि फेस्टिबलको अवधिमा विशेष प्याकेजहरु समेत घोषणा गरिएको छ । अम्ब्रेला स्ट्रिटको उद्घाटनको दिन बिहीबार पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य संघ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, फेस्टिबल अवधिभर डुङ्गा सयर, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको थियो ।

तस्विरः रमेशकुमार पौडेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>