चितवन विशेष
सौराहा फूड फेष्टिबल: खानाका परिकारसंगै प्रतियोगिता

चितवन, फागुन १–
चितवनको सौराहामा जारी १४ औं सौराहा फुड फेष्टिबल अन्र्तगत बिहीबार विभिन्न गतिविधि भएका छन् । फेष्टिबल अन्तर्गत मेयर कप भलिबल, डोरी तान्ने, वेटर रेस र रक्तदान कार्यक्रम भएको फेष्टिबलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । चार छुट्टा छुट्टै कार्यक्रमको रत्ननगरका मेयर नारायण वनले उद्घाटन गरेका थिए ।
रत्ननगर नगरपालिकाले फेष्टिबल परिसरमा आयोजना गरेको भलिवल प्रतियोगितामा ४ वटा टिमको सहभागिता रहेको छ । बिहीबार भएको खेलमा रत्ननगर १० को ‘ए’ टिम फाइनलमा प्रवेश गरेको छ भने बलेसी रेष्टुरेष्ट सेमिफाइनमा प्रवेश गरेको छ । लक्ष्मी पोसाकलाई पराजित गर्दै रत्ननगर १० ‘ए’ टिम फाइनलमा प्रवेश गरेको छ । लक्ष्मी पोसाकलाई नै पराजित गरी बलेसी सेमिफाइनलमा प्रवेश गरेको हो । बेलेसीले भोली (शुक्रबार) रत्ननगर १० को ‘बी’ टिमसंग फाइनल प्रवेशका लागि खेल्ने छ ।
फेष्टिवल अन्तर्गत भएकोे डोरी तान्ने प्रतियोगितामा चित्रसेन मध्यवर्ती सामुदायिक वन विजयी भएको छ । सौराहाका व्यवसायीहरुको समूहलाई पराजित गर्दै चित्रसेन विजयी भएको हो । वेटर रेस प्रतियोगितामा केसीज रेष्टुरेण्टका राजु चौधरी प्रथम, चोजोला खाना घरका प्रदिप मगर द्धितीय र केसीज रेष्टुरेष्टका शमसेर बस्याल तृतीय भएको सचिवालय व्यवस्थापन समितिका संयोजक गोपीकृष्ण बिडारीले जानकारी दिए ।
फेष्टिबल अन्तर्गत बिहीबार नै रक्तदान कार्यक्रम गरिएको छ । सामुदायिक सहयोग केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । रेवान सौराहाले आयोजना गरेको सो फूड फेष्टिबल फागुन ३ गतेसम्म चल्ने छ । भ्रमण वर्ष चलिरहेका कारण फेष्टिबल भ्रमण वर्षलाई सफल बनाउन कोसेढुंगा सावित हुने संयोजक ध्रुव गिरीले बताए ।
फेष्टिबल सुरु भएसंगै सौराहा आन्तरिक पर्यटककको संख्या बढेको छ । फेष्टिबलको तेश्रो दिनसम्म आइपुग्दा सौराहामा चहलपहल बढेको व्यवसायीहरुले बताएका छन । कोरोना भाइरसका कारण केही दिन देखि सुस्ताएको सौराहाको पर्यटनमा फेष्टिबलले केही उर्जा प्रदान गरेको छ । सौराहा अहिले खाना, प्रेम र संगीतमय बनेको रेवान सौराहाका दीपेन्द्र खतिवडाले बताए ।
























