चितवन विशेष
विश्व रेडियो दिवस: गुणस्तर खस्किएकोमा सरोकारवालाको चिन्ता

चितवन, फागुन १-
चितवनमा स्थानीय एफएम रेडियोहरुको गुणस्तर खस्कँदै गएको भन्दै सरोकारवालाहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।
चितवनको पहिलो एफएम भरतपुरको सिनर्जी एफएमले आज ‘स्थानीय तह र रेडियो’ को बारेमा गरेको जनबहसमा विभिन्न क्षेत्रका सरोकारवालाहरुले सो चिन्ता व्यक्त गरेका हुन् । रेडियोले एफएमका समस्या र चुनौतीमा दुई चरणमा जनबहस गरेको छ । बहसका अधिकांश वक्ताहरुले रेडियोको प्रशस्त सम्भावनाहरु हुँदाहुँदै गुणस्तरियता भने निरन्तर खस्किएको विचार राखे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले स्थानीय तहमा रेडियोको संख्या बढ्दै गएकोले पनि गुणस्तरमा समस्या आएको विचार राखे । उनले भने, ‘महानगरपालिकाले विज्ञापन दिँदा पनि सबैले चाहिन्छ भनेर समस्या पार्छन् । कतिपयले त विज्ञापनकै विषयलाई लिएर झगडा गर्ने गरेका छन् ।’ जनप्रतिनिधि र समाजका सकारात्मक कार्यहरुलाई प्रभावकारी ढंगले स्थानीय रेडियोले उठाउन नसकेको उनले गुनासो गरे । नगर प्रमुख वनले भने, ‘रचनात्मक र खोजमूलक कार्यक्रमहरुमा रेडियोले प्राथमिकता दिनुपर्छ ।’
बहसमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले स्थानीय निकाय निकै पारदर्शी भएको दाबी गरे । उनले भने, ‘महानगरका गतिविधिहरु वेवसाइटमा सबै हेर्न सकिन्छ । अन्य निकायमा पारदर्शिताको कुरा उठाउने मिडियाहरु आफैँ पारदर्शी हुनुपर्छ ।’ उनले महानगरमा भएको प्रवक्ताको व्यवस्था, सामाजिक मिडियाहरुको प्रभाव र सार्वजनिक सुनुवाइले आफूहरु निकै पारदर्शी भएको दाबी गरे । प्रशासकीय अधिकृत जोशीले भने, ‘रेडियोसँग सहकार्यको लागि महानगरपालिका तयार रहेको छ । रेडियोले गुणगान मात्र गाउने भन्दा पनि समाजको समस्या उठाउनुपर्ने उनको विचार थियो । उनले भने, ‘ महानगरको कहाँ ध्यान पुगेन रेडियोले भन्दिनुपर्छ । पत्रपत्रिका र इन्टरनेट पुग्न नसक्ने ठाउँमा रेडियोको महत्व त्यत्तिकै बढी देखिन्छ ।’
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी रेडियोको विश्वसनियता र गुणस्तरितामा नै नागरिकको मुख्य अपेक्षा रहेको विचार राखे । उनले भने, ‘सम्भावना कम भएको होइन । रेडियोको गुणस्तरमा कमी आउनु अहिलेको चिन्ताको विषय हो ।’ जनबहसमा सिनर्जी एफएमका प्रवन्ध निर्देशक तथा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले स्थानीय तहले सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्न पनि रेडियोको भूमिका महत्वपूर्ण हुन्छ । उनले भने, ‘रेडियोका सामग्री सशक्त भए मात्र रेडियोको लोकप्रियता बढ्छ । चितवनमा रेडियोको संख्या बढी भए पनि बैँक मर्जिङ जस्तो सजिलो नभएको उनको विचार थियो ।
रेडियो शिव शक्तिका स्टेशन म्यानेजर रमेश पौडेलले रेडियोको गुणस्तर खस्किएकोमा स्वीकार गर्दै समाचार लेख्नको लागि पहिले गरेको मेहनत र अहिलेका गरेको मेहनतमा धेरै फरक भएको विचार राखे । उनले भने, ‘ अहिले रेडियोको विषय वस्तु अरुको कपी गर्ने प्रचलनले निकै कमजोर बनाएको छ । रेडियो सञ्चालकले र सञ्चारकर्मीहरुले पनि यो विषयमा ध्यान दिनुपर्छ ।’ कपिपेस्टमा रेडियोकर्मी सन्तुष्ट हुन थाले भने व्यक्तित्व विकास हुन नसक्ने उनको विचार थियो । उनले भने, ‘स्थानीय तहले विभेदीकरणको नीति लिनु हुँदैन, यो हट्नुपर्छ । सानो मिडिया र ठूलो मिडिया भनेर विभेदीकरण गर्नु हुँदैन, मानसिकता बदल्नुपर्छ ।’
त्यसैगरी रेडियो त्रिवेणीका सञ्चालक समिति अध्यक्ष सुदिपसिंह अधिकारी रेडियोको गुणस्तर खस्किएकोमा स्वीकार गर्दै अन्य व्यवसाय सञ्चालन गरेजस्तो रेडियो सञ्चालन सजिलो नभएको विचार राखे । सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले सञ्चालन गरेको जनबहसमा सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसूदन दवाडीले चितवनका स्थानीय रेडियोका समस्याहरुबारे सुझावसहित कार्यपत्र प्रस्तुत गरेका थिए । उनले भने, ‘चितवनको एफएम रेडियोको संख्यात्मक विकास बढ्दै जानु र गुणस्तरियता खस्कँदै जानु निकै चिन्ताको विषय हो । दीर्घकालिन सञ्चार नीति र स्पष्ट योजना नभएसम्म रेडियोको गरिमा र शाख जोगाउन कठिन छ ।’ रेडियोमा काम गर्ने सञ्चारकर्मीहरु निकै मेहनती, अध्ययनशील र अनुसन्धान गर्न सक्ने भएमा मात्र सामग्रीमा गुणस्तरियता आउने उनको विचार थियो ।
कान्तिपुर दैनिकका पत्रकार रमेशकुमार पौडेल स्थानीय तहको भूमिका र संवैधानिक प्रावधानबारे रेडियोका सञ्चारकर्मीहरु सचेत हुनुपर्ने विचार राखे । जनबहसमा उनले भने, ‘तीन तहका सरकारहरु छन्, नयाँ परिस्थितिमा स्थानीय तह के हो भन्नेमा प्रत्येक सञ्चारकर्मीहरु जानकार हुनुपर्छ । जनतासँग बढी जोडिनुप¥यो, नागरिकका गुनासाहरु उठाउनुपर्छ ।’ चितवनको रेडियोमा नकारात्मकता हाबी भएको भन्दै पत्रकार पौडेलले नकारात्मकता बढ्नु खतराको संकेत भएकोले सचेत हुन सबैलाई आग्रह गरे । उनले भने, ‘मिडियाकर्मीहरु नयाँ विषयवस्तुबारे जागरुक हुनुपर्छ, रेडियो सञ्चालक नै स्थानीय सरकारसँग सहकार्यमा लाग्नुपर्छ ।’
त्यस्तै कार्यक्रममा अनलाइन खबरका पत्रकार सुवास पण्डितले स्थानीय तहमा पाएको झमेला र कठिनाइको बारेमा कार्यक्रममा अनुभव सुनाए । उनले भने, ‘्ब्रेक थ्रु कार्यक्रम चलाउँदा ठूलै मानिसले धम्की पनि दिए, रेडियो भित्र लुकेर बस्नुपर्ने अवस्था आयो ।’ स्थानीय निकायका कर्मचारीहरुबाट पनि रेडियोले गरेका कामबारे प्रश्न उठाएको उनले उदाहरणहरु दिए । उनले भने, ‘अहिले पनि सूचना नपाउने समस्याहरु छन् । स्थानीय एफएमले भएका भ्रष्टाचार र अनियमिततालाई उठाउन सकेका छैनन् । प्रिमेड समाचार आउँछ, राम्रा कुरा मात्र आएको छ । स्थानीय तहमा भएका विकृति पनि बाहिर आउनुपर्छ ।’ उद्योग संघका उपाध्यक्ष युवराज वस्ती निजी क्षेत्रलाई अभिप्रेरित गर्ने प्रकारले रेडियोले सकारात्मक पक्षहरुलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘रेडियोको संख्या च्याउ उम्रेझैँ वृद्धि भएकोले पनि यसलाई निश्चित नियम वा नीति बनाएर नियन्त्रण गर्नुपर्छ ।’
बहसमा रिलेशन एफएम टाँडीका अध्यक्ष अनिल अधिकारीले रेडियो सञ्चालकहरुमा नै एकता नहुँदा गुणस्तरीय विकासमा समस्या आएको विचार राखे । जनबहसमा रेडियोका नकारात्मक पक्षहरु मात्र नभएर सकारात्मक कार्यबारे पनि सहभागीले विश्लेषण गरे । गैँडाकोटको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले गैँडाकोटका सामाजिक समस्याहरुबारे रेडियोले आवाज उठाउँदा समाजमा ठूलो परिवर्तन आएको उदाहरणहरु दिए । शिक्षा, खानेपानी र सरसफाइमा रेडियोकै कारणले ठूलो परिवर्तन आएको उनको भनाइ थियो । बहसमा पत्रकार विवेक पोखरेलले रेडियोमा जनशक्ति अभावको समस्या रहेको बताए । उनले रेडियो कार्यक्रमको लागि रिपोर्टिङ गर्दाको कठिनाइहरु पनि सुनाएका थिए । उनले भने, ‘वडा अध्यक्षहरु भेट्न गाहे र भेटे पनि स्थानीय समस्यामा बोल्न गाहे हुनेगर्छ ।’ सिनर्जी एफएमले सामाजिक सरोकारको विषयमा समयसमयमा यस्तै जनबहस गर्दै आइरहेको छ ।
























