चितवन विशेष
गच्छदारलाई फसाएको भन्दै चितवनमा नेवि संघको मोटरसाइकल र्याली
चितवन, माघ २८-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई फसाएको भन्दै नेपाल विद्यार्थी संघ बालकुमारी कलेज नारायणगढले बिरोधस्वरुप मोटरसाइकल र्याली निकालेको छ ।
मंगलबार विहान ११ बजे बालकुमारी कलेजबाट सुरु भएको मोटरसाइकल र्याली भरतपुरको चौविसकोठी, लायन्स चोक, शहिदचोक, पुल्चोक पुगेर पुनः बालकुमारी कलेजमा पुगेर समापन भएको थियो ।
कम्युनिष्ट सरकारले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कठपुतली बनाएर नियोजित ढंगले काँग्रेस उपसभापति गच्छदारलाई फसाएको बिरोधस्वरुप मोटरसाइकल र्याली निकालिएको नेवि संघ बालकुमारीका अध्यक्ष एवंम जिल्ला उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । उनले कम्युुनिष्ट सरकारले आफ्ना पार्टीका नेताहरु तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र हालका नेकपा महासचिव विष्णु पौडेललाई बचाउन खोजेकोले पनि बिरोध प्रदर्शन गरिएको बताए ।

र्यालीमा नेवि संघ जिल्ला सहसचिव सरोज श्रेष्ठ, नेवि संघ बालकुमारी कलेजका कार्यवाहक अध्यक्ष अमितबाबु तिवारी, उपाध्यक्षहरु रेशम गौतम, सुदिप तिवारी, राज क्षेत्री, सचिव विष्णु पन्त, सहसचिव नवराज क्षेत्री, कोषाध्यक्ष हिमाल कोइराला, सदस्यहरु इसु बराल, सुनिल पाण्डे, अनिष भट्टराई, विधान कोइराला, अनुकुल घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
























