चितवन विशेष
क्रिकेट रंगशालालाई होटल व्यवसायी संघको पाँच लाख
चितवन, माघ २८-
भरतपुरको रामपुरमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि अहिले सहयोग जुट्ने क्रम बढ्दो छ । चितवनमै निर्माण भएकाले पनि जिल्लाबासीहरु बढी नै सक्रिय बनेका छन् । विभिन्न संघसंस्थाहरुले सहयोग गर्न थालेका छन् ।
होटल व्यवसायी संघ चितवनले पनि रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ । रंगशाला सहयोगार्थ भएको धनधान्यञ्चल महोत्सवकै अवसर पारेर होटल व्यवसायी संघ चितवनले पाँच लाख एक हजार १११ रुपैयाँ सहयोग गरेको छ । संघका सल्लाहकार गोपालमान श्रेष्ठको संयोजकत्वमा संघको ६ वटा इकाईबाट संकलन गरिएको रकम रंगशालालाई सहयोग गरिएको हो ।
संघले नारायणगढ बजार इकाइबाट २ लाख ३२ हजार ९६३, भरतपुर इकाईबाट एक लाख ११ हजार ७८६, माडी इकाईबाट एक लाख एक हजार १११, रामनगर शिमलताल इकाईबाट ३१ हजार १३६, नारायणगढ बसपार्क इकाईबाट १३ हजार ५५५ र शिवघाट इकाईबाट १० हजार ५६० रुपैयाँ संकलन गरी रंगशालालाई सहयोग गरिएको नारायणगढ इकाईका अध्यक्ष कृष्ण महतोले जानकारी दिए ।
सबै इकाईबाट संकलित रकम धनधान्यञ्चल महोत्सवको अवसर पारेर हस्तान्तरण गरिएको संघकी जिल्ला अध्यक्ष शर्मिला न्यौपानेले जानकारी दिइन् । अध्यक्ष न्यौपानले रंगशाला निर्माण गरिरहेको धुमुर्स सुन्तली–फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई रकम हस्तान्तरण गरिन् । अध्यक्ष न्यौपानेले क्रिकेट रंगशाला चितवनको मात्र नभई देशकै शान भएकोले संघले सबै इकाईलाई अपनत्व हुने गरी रकम संकलन गरी हस्तान्तरण गरिएको बताइन् ।
धुमुर्स–सुन्तली फाउण्डेसनले जनस्तरबाट नेपालकै पहिलो क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । रंगशाला निर्माणको काम अहिले द्रुतगतिमा अघि बढी रहेको छ ।
























