चितवन विशेष
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः चन्द्र ढकालले दिए १ करोड

चितवन,माघ २७-
चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा आज (सोमबार) अन्तिम दिनपनि दान गर्ने दाताहरुको उल्लेख्य उपस्थिति रह्यो । व्यवसायी चन्द्र ढकालले रंगशाला निर्माणका लागि १ करोड रुपैंया सहयोगको घोषणा गरेका छन् । महोत्सवस्थल पुगेर उनले सहयोगको घोषणा गरेका हुन् । उनि ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् ।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न आफूले सहयोग गरेको उनले बताए । थोरै भएपनि सबैले सहयोग गरे रंगशाला तोकिएकै मितिमा सम्पन्न हुने उनको विश्वास छ ।
आइतबारसम्म ३५ करोड संकलन भइसकेको बाग्मती प्रदेशका सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए ।
करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

तस्विरः अनिल अधिकारी
























