चितवन विशेष
चौरासीको खर्च कटौती गरेर रंगशालालाई २ लाख ५५ हजार सहयोग

चितवन,माघ २६-
गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार सोम सापकोटाले आफ्नी आमाको चौरासी पूजाको खर्च कटौती गरेर चितवनमा निर्माण भैरहेको क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सापकोटाले ८५ वर्षीया आफ्नी आमा तुलसी सापकोटाको तर्फबाट २ लाख ५५ हजार रुपैयाँ नगद दान गरे ।

चितवनको मात्र नभएर देशकै गौरबसँग जोडिएको रंगशाला निर्माणमा सबै पक्षबाट आर्थिक सहयोगको अपेक्षा गरेर आफुले चौरासी पूजाको रकम कटौती गरेर रंगशाला निर्माणमा सहयोग गरेको उनले बताए । भरतपुर महानगरपालिका ४, धर्मचोकका स्थायी बासिन्दा सापकोटाले रंगशाला निर्माणका लागि सबै क्षेत्रबाट थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महायज्ञ चलिरहेको छ । महायज्ञको प्रमुख कथावाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् । आइतबारसम्म झण्डै ३५ करोड रुपैयाँ संकलन भैसकेको छ ।
























