चितवन विशेष
चितवनमा सवारी चेकजाँचमा कडाइ, दुर्घटना कम गर्न रातभर चेकिङ

चितवन, माघ २५-
चितवन ट्राफिक प्रहरी कार्यालयले जिल्लामा सवारी दुर्घटना न्यूनीकरणको लागि मुख्य राजमार्ग र भित्रि सडकमा रातभर सवारीसाधनको चेकिङ सुरु गरेको छ । चितवन प्रहरीको समन्वयमा रात्रिकालिन समयमा सडक सुरक्षा कार्ययोजना बनाइ ट्राफिकले चेकजाँचमा कडाइ गरेको हो । देशका विभिन्न शहरमा पुग्न चितवनकै बाटो भएर जानुपर्ने भएकोले पनि चितवन प्रहरी हरबखत ‘हाइअलर्ट’मा बसेको छ । सम्भावित दुर्घटनाहरुको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त चेकजाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।
चितवनका नयाँ ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जिल्लामा आफू आएदेखि नै सवारी व्यवस्थापनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजनासहित काम गरिरहेको बताए । उनले भने, ‘रातको समयमा भएको दुर्घटनामा मानवीय क्षती बढी भएको पाइएकाले चेकजांँचमा कडाइ गरिएको हो ।’
विगत ६ महिनाको तथ्याङ्क हेर्दा रातको समयमा बढी दुर्घटना हुने गरेकाले रात्रिकालिन समयमा झनै चेकजाँच कडा पारिएको भट्टको भनाइ थियो । ‘यसलाई न्यूनीकरण गर्न हामीले रात्रीकालिन समयमा कडाई गर्न लागेको बताउँदै भट्टले भने, ‘रात्रिकालिन समयमा मापसे गरी सवारी चलाउने, चालक निदाउने, तीव्रगतिमा हाँक्ने र ट्राफिक नियम मिच्ने जस्ता घटना बढी हुने गरेका छन ।’
चितवन प्रहरीको समन्वयमा कार्ययोजना लागू भएपछि दूर्घटनाको दरमा कमी आउने बताउँदै भट्टले जिल्लामा सचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए । प्रमुख भट्टले सवारीसाधन खरिदबापत राज्यलाई कर तिरेको भन्दैमा सडकमा जथाभावी पार्किङ गर्ने जो कोहीलाई छुट नभएको बताए ।
पार्किङ क्षेत्र अभावको कारण देखाएर सवारी चालकले मनपरि ढंगले फुटपाथमा पार्किङ गर्दै आएकाले ह्विल लकसमेत लगाउँदै आएको ट्राफिक प्रहरी जवान जिवराज भट्टराईले बताए । उनले भने, ‘चितवनमा पैदलयात्री हिंड्ने बाटो नै छेकिने गरी सवारीसाधन पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ । यसलाई कम गर्न ह्विल लकको व्यवस्था गरका हौँ । पछिल्लो एक हप्तामा २०० बढी सवारी साधन कारबाहीमा परेका छन् ।’ जिल्लाको बढी दुर्घटना हुने ८ वटा ठाउंँमा प्रहरी र ट्राफिक प्रहरीसहित ७ जनासम्मको टोलीले २४ सै घण्टा निगरानी गर्ने कार्यको सुरुवात भइरहेको भट्टले नारायणी अनलाइनलाई जानकारी दिए ।
























