चितवन विशेष
चितवनमा युवक संघको मेची–महाकाली अभियान

चितवन, माघ २३–
देशमा बढ्दो भ्रष्टाचारको विरोध गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको टोली बिहीबार चितवन आइपुगेको छ ।
‘समृद्धिको बाधक भ्रष्टाचार अन्त्य गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने नाराका माघ १५ गतेदेखि महेन्द्रनगरबाट सुरु भएको मेची महाकाली अभियानको टोली चितवन आइपुगेको हो ।
र्यालीमा सहभागी टोलीलाई राष्ट्रिय जनमोर्चा चितवन, युवक संघका प्रतिनिधिलगायतले नारायणगढको पुलचोकमा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष तिलक थापाले स्थानीय तहदेखि केन्द्रसम्म नीतिगत भ्रष्टाचारको वृद्धि र नागरिकता विधेयक राष्ट्रियता विपरित भएकाले जनतालाई सेचत गराउन खबरदारी अभियान सञ्चालन गरेको बताएका छन् । भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको बताउँदै अब भ्रष्टचारीलाई अखिल नेपाल युवक संघले कारबाही गर्ने चेतावनी दिए ।
‘सरकारले भ्रष्टाचार निर्मुल गर्न भन्दा अख्तियारको कार्यक्षेत्र समेत कटौती गरेको छ । अख्तियार प्रमुख राजनीति भागबन्डाको अधारमा नियुक्ति गरिन्छ’, थापाले भने, ‘सरकारले नीतिगत भ्रष्टाचारलाई संरक्षण गरिरहेको छ । अब भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा नेपाली जनताको हातमा आएको छ ।’ नेपाली जनताले चाहेमा दुई तिहाइको सरकारलाई समाप्त पार्न सक्ने भन्दै राज्य सचेत हुन आग्रह गरे । उनले संसदमा पेस भएको नागरिकता ऐनमाथिको संशोधन विधेयक राष्ट्रघाती भएकाले विधेयक खारेज गर्न माग गरे । अहिले सम्म ५७ लाख भारतीयले नागरिकता पाइसकेको भन्दै यस विधेयकले जनसाङ्ख्यिक रुपमा नेपाल कब्जा गर्ने भारतको डिजाइन भएको उनको आरोप छ । उनले देशलाई समृद्ध बनाउनका लागि युवाहरुलाई रोजगारी दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीले जनताको पक्षमा राज्यले काम गर्न नसकेको बताए । मुलकमा कम्युनिस्टहरुले सरकार चलाए पनि सच्चा कम्युनिस्टहरुको बदनाम भएको उनको भनाइ छ । कोणसभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । आज चितवन आइपुगेको टोली पूर्वतर्फ लागेको छ । यसअघि बिहीबार नवलपुरमा पनि अखिल नेपाल युवक संघले कोणसभा गरेको थियो । अखिल नेपाल युवक संघ चितवनका संयोजक छविलाल शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे, नेकपा(मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल तथा राष्ट्रिय तथा स्थानीय नेताको सहभागिता रहेको थियो । फागुन १ गते टोली मेचीको काकँडभित्तामा पुगेपछि औपचारिकरुपमा समापन हुने आयोजकले जानकारी दिएको छ ।
























