चितवन विशेष
चितवनका राष्ट्रवादी नेता खराल राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

चितवन, माघ २२–
राष्ट्रवादी नेताको रुपमा चिनिएका भरतपुरका विष्णुप्रसाद खराल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा मनोनित भएका छन् । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनमा आवद्ध खराललाइ केन्द्रीय अध्यक्ष कमल थापाले पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
पंचायत कालदेखि नै राजनीतिमा सक्रिय खराल राजा महेन्द्र, राजा वीरेन्द्र र सूर्यबहादुर थापा प्रधानमन्त्री रहेको बेला चितवनमा विभिन्न सामाजिक र राजनीतिक पदमा रहेर काम गरेका थिए ।
आफू नेपालमा हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र बलियो स्थानीय निकाय हुनु पर्दछ भन्ने मान्यतामा अडिग रहेका खरालले नारायणी अनलाइनलार्इ बताए । पहिलो संविधान सभामा चितवनमा उम्मेदवार समेत बनेका खराल विभिन्न मठ, मन्दिर निर्माण तथा व्यवस्थापन, धेरै विद्यालय र कलेजको व्यवस्थापनमा संलग्न रही आएका छन् ।
तत्कालिन नारायणपुर गाविस, भरतपुर नगरपालिकाको वार्ड अध्यक्ष, पार्टीको महानगर सभापति एवंम राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला, क्षेत्र, अञ्चल र केन्द्र कै किसान संगठन, अनुशासन विभाग तथा विभिन्न समितिमा बसेर राष्ट्रिय राजनीतिमा लामो समय सक्रिय रहेकोले पार्टीले उचित जिम्मेवारी दिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । उनले केन्द्रले खराल जस्तो नेता पाउनु खुशीको कुरा भएको प्रतिक्रिया दिए ।
























