चितवन विशेष
रंगशालामा महायज्ञः कोमल ओलीले कति सहयोग गरिन ?

चितवन,माघ २१-
भरतपुरको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले सहयोग गरेका छन् । आज (मंगलवार) धनधान्यान्चल महोत्सव परिसरमा उपस्थित राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथीको रुपमा उपस्थित राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले रंगशाला निर्माणका लागि ५० बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेकी छिन् ।
दाहालले रंगशाला देशकै सान र गहना भएकोले सबैलाई सहयोग गर्न आग्रह पनि गरिन् । यस्तै उनले रंगशाला निर्माण सहयोग लागि आफ्नो प्रदेश र जिल्लालाई आह्वान गर्ने प्रतिबद्दता समेत जनाइन् । राष्ट्रिय सभा सदस्य तथा चर्चित लोक दोहोरी गायिका कोमल ओलीले रंगशाला निर्माणका लागि ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेकी छिन् । सहयोग रकम घोषणा गर्दै ओलीले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले रंगशाला निर्माणका धनधान्यान्चल आयोजना गर्न चितवनबासी एक भएकोमा खुशी व्यक्त गरिन् । ओली प्रदेश ५ को प्रतिनिधित्व गर्दै राष्ट्रिय सभाको सदस्य रहेकी छिन् ।
यस्तै सुदुरपश्चिम प्रदेशलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्यकी अर्की सदस्य इन्दु कडरियाले निर्माणाधिन रंगशालाका लागि ५५ हजार ५ सय ५५ रुपैया घोषणा गरेकी छिन् । यो अभियानमा सबैलाई हौसला दिनका लागि भन्दै उनले उक्त रकम घोषणा गरेकी हुन् । उनले थोपा थोपा मिलेर सागर बन्ने भन्दै सबैलाई जती सक्दो सहयोग गर्न अपिल समेत गरिन् ।
कार्यक्रमकी अध्यक्ष राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल पार्वती १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग घोषणा गरेकी छिन् । रावलले यो अभियान सफल बनाउन महिलाले भौतिक उपस्थितीसँगै आर्थिक रुपमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न आफुले सहयोग घोषणा गरेको बताइन् । नेपालमा धेरै सहयोगी मनहरु भएकोले यसले सबैमा सहयोगको भावना आउने उनको विश्वास रहेको छ ।
मंगलबार बिहान नेपाल महिला संघ चितवनले धनधान्यान्चल महोत्सव मार्फत रंगशाला निर्माणका लागि रु १ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । संघकी अध्यक्ष समेत रहेकी भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले उक्त रकम घोषणा गरेकी हुन् ।सहयोग घोषणा गर्दै शाहले सबैलाई यो अभियान सफल बनाउन एक जुट हुन आग्रह गरिन् । रंगशाला निर्माण अभियान सम्पूर्ण नेपालीको साझा अभियान भएको उनको भनाई थियो । उनले धनधान्यान्चल सफल बनाउन महिलाहरुको भूमिका महत्वपुर्ण हुने बताईन् । गायिका सरिता गुरुङ श्रेष्ठले पनि २५ हजार सहयोग घोषणा गरेकी छिन् ।
यस बाहेक आज अन्य बिभिन्न संघ संस्थाहरुबाट समेत आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड रकम संकलन हुने अनुमान गरिएको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।
























