चितवन विशेष
रंगशाला महायज्ञमा आज लाखौँ रकम संकलन हुँदै

चितवन, माघ २१-
भरतपुरको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा मंगलबार पनि सहयोग जुट्ने क्रम जारी छ ।
आज नेपाल महिला संघ चितवनले धनधान्याचल महोत्सव मार्फत रंगशाला निर्माण लागि एक लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । संघकी अध्यक्षसमेत रहेकी भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले उक्त रकम घोषणा गरेकी हुन् ।
सहयोग घोषणा गर्दै शाहले सबैलाई यो अभियान सफक बनाउन एक जुट हुन आग्रह गरिन् । रंगशाला निर्माण अभियान सम्पूर्ण नेपालीको साझा अभियान भएको उनको भनाइ थियो । उनले धनधान्याचल सफल बनाउन महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । यस्तै आज बिहानदेखि नै विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।
तेस्रो दिन आज राष्ट्रियसभा सदस्य सांसद कोमल ओली प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा महिलाहरुको विशेष उपस्थिति रहेको छ । आजको कार्यक्रम मातृशक्ति परिचालन समिति संयोजक समेत रहेकी राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ को अध्यक्षतामा सुरु भएको हो ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । महोत्सवमा पण्डित दिनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य छ । करिब ३ अर्ब लागतमा २ वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।
























