क्रिकेट
रंगशाला निर्माणमा प्रमोदको सहयोग घोषणाः हरेक कार्यक्रमको पाँच हजार १ सय ११ रुपैंया दिने

चितवन,माघ २०-
चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्नेको ओइरो लागेको छ । पछिल्लो समय फेसबुकबाट घोषणा गर्ने र निर्माणाधिन स्थलमा पुगेर सहयोग गर्नेहरु दिनप्रतिदिन बढेका छन् ।
चर्चित कलाकार प्रमोद खरेलले हरेक सांगितिक कार्यक्रमबाट लिने पारिश्रमिकबाट पाँच हजार १ सय ११ रुपैंया रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले फेसबुक स्टाटस मार्फत सो घोषणा गरेका हुन् । उनले २०७६ माघ १७ देखि २०७७ माघ १७ सम्मको अवधिमा आफुले सहभागि जनाउने हरेक सांगितिक कार्यक्रम बराबरको सहयोग गर्ने जनाएका छन् । आइतबार मात्रै क्रिकेट खेलाडी सन्दिप लामिछानेले माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिगमा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए ।
रंगशाला निर्माण सहयोगार्थ निर्माणस्थलमा धनधान्याचल महोत्सव आइतबारदेखि सुरु भएको छ । महोत्सवमा अहिलेसम्म ७० लाख बढि आर्थिक संकलन भइसकेको छ ।
























