चितवन विशेष

चितवनमा मनाइयो विश्व सिमसार दिवस

Banner

चितवन,माघ १९-

हरेक वर्ष फेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार तथा जैविक विविधता’ भन्ने मूल नाराका साथ चितवनमा पनि मनाइएको छ । युवाहरुमा सिमसार र यसको महत्वकाबारे सचेतना फैलाउने उद्देश्यले बेटर चितवनको आयोजनामा नारायणी नदीकिनारमा विविध कार्यक्रम गर्दै आइतबार विश्व सिमसार दिवस मनाइएको हो । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवम् पानी जमेको क्षेत्रलाई जनाउँछ ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवन यापनका स्रोत प्रदान गर्छ भने विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतीलाई बासस्थान प्रदान समेत गर्दछ । तर विश्वभरि नै सिमसार जोखिममा रहेको र वन भन्दा तीन गुणा बढी सिमसार मासिदै गएकाले युवाहरुको सहभागितामा युवाहरुलाई नै सचेत गराउने उदेश्यले नारायणी नदीकिनारमा विभिन्न कार्यक्रमगरि विश्व सिमसार दिवस २०२० मनाइएको कार्यक्रमकी संयोजक बसुन्धरा आचार्यले बताइन् ।

उनका अनुसार सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, सिमसार क्षेत्र प्रदुषण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ । नेपालका तराई, पहाड र हिमाली सबै क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन्, जुन लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान समेत हो ।

सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । यस सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, रारा ताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसारहरु सूचीकृत छन् ।

कार्यक्रममा सचेतनामूलक भिडियो निर्माण, सडक नाटक, फ्ल्यास मब, सन्देशमुलक प्रदर्शनी लगायतका गतिविधीहरू भएका थिए । वातावरण संरक्षणमा युवाहरूको सक्रियता रहेमा र सचेत भएर युवाहरू लागेमा सिमसार क्षेत्र संरक्षण अझ सशक्त हुनेमा सहभागीहरुले जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>