चितवन विशेष

क्रिकेट रंगशालामा महायज्ञः मदनकृष्ण र हरिवंशले उद्घाटन गर्ने

Banner

चितवन,माघ १७-

चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन गर्न लागिएको वृहत धनधान्याचल महोत्सव–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव मूल आयोजक समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माण परिसरमा नै वृहत धनधान्याचल महोत्सव–२०७६ आयोजना गर्न लागिएको हो ।  जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थप आर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गरिएको प्रदेश सांसदसमेत रहेका महोत्सव संयोजक विजय सुवेदीले जानकारी दिए ।

पण्डित दीनबन्धु पोखरेलबाट वाचन हुने श्रीमद्भागवत माहापुराणमा भजनकिर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम राखिएको संयोजक सुवेदीले जानकारी दिए । महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरी तयारी थालिएको छ । चितवनका ७ र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाध्यक्षको नेतृत्वमा वडास्तरीय समिति, टोल विकास संस्थाका अध्यक्षहरुको नेतृत्वमा सहयोग समिति गठन गरी हरेक घर र हरेक ब्यक्ति समक्ष रंगशाला निर्माणको प्रचारप्रसार र सहयोगको लागि अपिल गरिएको संयोजक सुवेदीले जानकारी दिए ।

उद्योग बाणिज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएनए, लायन्स तथा जेसिज लगायत विभिन्न सामाजिक संघसंस्थाहरुलाई केन्द्र मार्फत हरेक जिल्ला तथा त्यस मातहत रहेका निकायलाई महायज्ञमा जोड्ने प्रयास गरिएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिए । देशभरका ७५३ स्थानीय तह र ७७ वटै जिल्लालाई सहयोगका लागि अनुरोध पठाइएको छ । ५० करोड रकम उठाउने लक्ष्य राखिएको महोत्सवमा ७६ लाख खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवको उद्घाटन विभिन्न २२ विद्याका राष्ट्रिय ख्यातीप्राप्त २२ जना खेलाडीहरूबाट संयुक्त रुपमा माघ १९ गते दिउँसो २ बजे गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहलाई भब्य बनाउन बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>