क्रिकेट
चितवन प्रिमियर लिगः उद्घाटन खेलमा भरतपुरको जित

चितवन,माघ १७-
पहिलो संस्करणको -सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट शुरु भएको छ । नारायणगढको क्याम्पा चौरमा शुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव सिलवालले चितवनलाई खेलकुदको केन्द्रको रुपमा बिकास गर्नु पर्ने बताए । यहाँ प्रसस्तै स्रोत साधन र खेलकुदलाई माया गर्ने व्यक्तीहरु भएकोले चितवनलाई खेलकुद केन्द्र बनाउन कुनै समस्या नहुने उनको भनाई थियो । चितवन राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदको केन्द्र बन्नु पर्छ उनले भने, ‘यहाँ खेलकुदलाई माया गर्ने व्यक्तीहरु हुनुहुन्छ । खेलकुदलाई माया गर्ने व्यक्तीहरुले बिभिन्न संघ संस्थाको नेतृत्व गरिरहनु भएको छ । त्यसैले कुनै समस्या नै छैन ।’

उनले चितवन प्रिमियर लिगले चितवनको क्रिकेट बिकासमा सहयोग पुग्नेमा आफु ढुक्क रहेको बताए । सीपीएल चितवनको क्रिकेट क्षेत्रको बिकासको सुरुवात भएको भन्दै उनले सफलताको कामना गरे । चितवन सन्दीप लामिछाने जस्तो राष्ट्रले गौरभ गर्ने खेलाडी उत्पादन गरेको जिल्ला भएको भन्दै सीपीएलले आगामी दिनमा अझै धेरै सन्दीप जस्तो खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
यस्तै उनले आगामी दिनमा यसलाई प्रदेश हुँदै राष्ट्रिय स्तरकै उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गर्न सुझाब दिए । ‘यसपाली तपाईहरुले सुरुवात गर्नु भएको छ उनले भने, ‘आगामी दिनमा यसलाई क्रमशस् प्रदेश हुँदै राष्ट्रिय स्तरमा लैजानुस् ।’ यस्तै उनले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । अनुशासन पालना नगर्दा राष्ट्रिय फुटबल टिमका ४ खेलाडीहरु कारबाही परेको स्मरण गराउदै उनले सबैलाई अनुशासित भएर खेल्न आग्रह गरे ।
भरतपुरको बिजयी सुरुवात
पहिलो पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिगमा भरतपुर गुर्खाजले बिजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा भरतपुरले इच्छाकामना वारीयर्सलाई सुपर ओभरमा पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत शनिबार पनि एक खेल हुनेछ । शनिबार मध्यान्ह १२ बजे हुने खेलमा माडी टाइगर्स र सौराहा स्याण्ड्स भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।
२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।
यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । चितवन क्रिकेट संघ सह आयोजक रहेको यस किसिमको लिग चितवनमै पहिलो पटक आयोजना भएको हो ।
























