चितवन विशेष
चितवन प्रिमियर लिग भोलीदेखी क्याम्पाचौरमा, ट्रफी सार्वजनिक

चितवन,माघ १५-
पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । सीपीएलको आज (बिहिबार) नारायणी नदीकिनारमा ट्रफी सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी पाँच वटै टिमका कप्तानहरु क्रमशः संघर्ष पौडेल (भरतपुर गुर्खाज), सन्तोष न्यौपाने (सौराहा स्याण्ड्स), आकाश थापा (राप्ती ¥यापिडस), दीपेश श्रेष्ठ (इच्छाकामना वारीयर्स) र हेमराज पौडेल (उपकप्तान–माडी टाइगर्स) ले सीपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै सबै टिमका कप्तानहरुले उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रने बताए ।
तयारी पुरा
शुक्रबारबाट शुरुहुने सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । नारायणगढको क्याम्पाचौर सीपीएल खेलाउनका लागि तयार भएको छ ।प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नेछन् । २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमाशुक्रबार राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजबिरुद्द इच्छाकामना वारीयर्स मैदानमा उत्रदैछ । यो खेलमध्यान्ह १२ बजे हुने आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीनजना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुईलाखसहित ट्रफी प्राप्तगर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।
यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
























