चितवन विशेष

भरतपुरमा पोखरेल प्रतिष्ठानको महायज्ञः २१ लाख सङ्कलन

Banner

चितवन,माघ १५-

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालले भरतपुरमा आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञ बुधबार समेत जारी छ । महायज्ञमा रकम संकलन हुने क्रम तीव्र रहेको उल्लेख गर्दै भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानका उपाध्यक्ष चिरञ्जीवि पोखरेलले बुधबार मात्रै २१ लाख रुपैयाँ सङ्कलन भएको जानकारी दिए । महायज्ञमा बुधबार सबैभन्दा बढी रकम रैनादेवी पाल्पाका थानेश्वर पोखरेलले प्रदान गरेका उपाध्यक्ष पोखरेलले बताए । पोखरेलका अनुसार थानेश्वरले सात लाख ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै, बुधबार नै खोटाङका धर्मराज पोखरेलले पाँच लाख एक हजार, भरतपुर ६ का स्वर्गीय भीमप्रसाद पोखरेलका छोरा चुडामणि पोखरेलले दुई लाख ५१ हजार, पर्वतका युवराज, मोहदत्त, भीमप्रसाद र अच्युतराज पोखरेलले एक लाख ११ हजार तथा भारद्वाज पोखरेल समाज कास्कीबाट एक लाख एक हजार रुपैयाँ प्राप्त भएको उपाध्यक्ष पोखरेलले बताए । उनकाअनुसार हालसम्म ७५ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको महायज्ञ मूल समितिका संयोजक एवम् भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानका अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए ।

महायज्ञबाट भएको आम्दानीले देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्य रहेको छ । यसैगरी, एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिए । आगामी माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा बिहान ११ बजदेखि कथा वाचन हुनुका साथै दैनिक तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा तथा ग्रह शान्तिसमेत गर्न सकिने प्रतिष्ठानका जिल्ला उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिए । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>