चितवन विशेष
रंगशाला निर्माणका लागि लायन्स क्लबको सक्रियता

चितवन, माघ १५-
लायन्स क्लब रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हुने धनधान्याचल महायज्ञ सफल बनाउन जुट्ने भएको छ ।
यही माघ १९ गतेदेखि सुरु हुने महायज्ञ सफल बनाउनका लागि सम्पूर्ण लायन्स क्लबहरु एक जुट भई लाग्ने लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ का भाईस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिए ।
महायज्ञ अवधिभर डिस्ट्रिक्ट ३२५ बी २ अन्तर्गतका सम्पूर्ण लायन्स क्लबहरु एक जुट भई लाग्ने भट्टले बताए । उनले ३२५ बी २ अन्तर्गतका सम्पूर्ण क्लबलाई महायज्ञ सफल बनाउन एक जुट हुनका लागि आह्वान गरिसकेको बताए । ३२५ बी २ अन्तर्गतका ३२५ क्लबका करिब १० हजार लायन्स सदस्यहरु महायज्ञ सफल बनाउने अभियानमा लाग्ने उनले बताए । ‘अन्तर्रा्िष्ट्रय क्रिकेट रंगशाला राष्ट्रकै गौरभको अभियान हो उनले भने, ‘यसमा हाम्रो भूमिका पनि निकै मह्त्वपूर्ण हुन्छ, त्यसैले हामी सम्पूर्ण लायन्सहरु महायज्ञ अवधिभर यही खट्ने छौं ।’
उनले धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाइमा जनस्तरबाट बन्न लागेको रंगशालामा लायन्स क्लब तथा सदस्यहरुले भौतिकसँगै आर्थिकरुपमा पनि सहयोग गर्ने बताए । ‘यो जनस्तरबाट बन्न लागेको राष्ट्रकै गौरवको परियोजना हो उनले भने, ‘यसमा हाम्रो भौतिक उपस्थिति त छँदै छ, सँग सँगै आर्थिक रुपमा पनि सहयोग गर्नेछौ ।’
उनले ३२५ बी २ बाहेक देशभरका लायन्सलाई पनि सक्दो सहयोगको लागि अपिल गरेका छन् । यस्तै एरिया ३ अन्तर्गतका सम्पूर्ण क्लबहरु पनि महायज्ञ सफल बनाउन लाग्ने बताइएको छ । ३२५ बी २ अन्तर्गत एरिया ३ का चिफ प्रकाशचन्द्र भट्टराईका अनुसार उक्त एरियाका १०० क्लबका करिब दुई हजार ५०० सदस्यहरुले भौतिक तथा आर्थिकरुपमा सहयोग गर्नेछन् ।
























