चितवन विशेष

काठमाडौँको झल्को दिने नारायणगढ पुल्चोकको जाम

Banner

निशा श्रेष्ठ

चितवन माघ १४-

बिहान सबेरै गैँडाकोटबाट कार चलाएर भरतपुरको सप्तगण्डकी क्याम्पसमा प्राध्यापन गर्न आउने गिरीराज उपाध्यायलाई आजभोलि नारायणगढ पुलचोकको जामले काठमाडौँकै झल्को दिन्छ । बिहान आउँदा सडकमा केही खुला भएको अनुभव भए पनि क्याम्पसबाट फर्कदा बिहान ११ बजेपछि भने उनलाई पुलचोकको जामले निकै सास्तीदिने गरेको छ । उनले नारायणी अनलाइनलाई भने, ‘ म आधा घण्टासम्म जाम परेर पुलचोकमा रोकिने गरेको छु । मलाई काठमाडौँका सडकमा जाममा परेको जस्तै अनुभव हुन्छ ।’ उपाध्याय मात्र होइन हरेक दिन सयौँ सवारी पुलचोकको जाममा रोकिने गर्छन् । चारैतिर सडक पर्ने भएकोले पनि यस क्षेत्रमा बढी जाम भएको हो । पूर्वदेखि पश्चिम र पश्चिमदेखि काठमाडौँ, पोखरा जाने सवारीहरु पुलचोक भएर नै पार हुन्छन् । तर, दशकौं पहिले बनेको सडक संरचना अहिलेको सडकको जामलाई धान्न सक्ने अवस्थामा देखिँदैन ।

दैनिक सडकबाट पार गर्ने प्राध्यापक उपाध्यायले सबैभन्दा धेरै जाम पुलचोकको जेब्राक्रस नजिकै हुने गरेको बताए । पुलचोकको साघुँरो एक लेनको मात्र पुल पनि यसको मुख्य कारण हो भने अर्काेतिर पश्चिमजाने गाडीहरु नारायणी पुलको मुखमा जथाभावी रोक्नाले पनि सवारी जाम बढेको छ । चारैतिरबाट आएका गाडी रोक्ने र पठाउने गर्दा नै सबैभन्दा बढी जाम भएको उपाध्यायको ठहर छ । उनले पुलचोकमा नारायणी नदीको पुललाई फराकिलो बनाउने र व्यस्त सडक भएकोले अन्डरपास बनाउन सके जाम कम हुने विचार राखे । बढ्दो शहरीकरण र मानिसको आवतजावतसँगै हाम्रो पुरानो सडक संरचनामा परिवर्तन गर्नुपर्ने धेरै यात्रुहरुको विचार छ ।

बढ्दो सवारी चापसँगै पुलचोकस्थित नारायणी पुलमा पूर्वपश्चिम राजमार्गबाट आएका र स्थानीय निजी तथा सार्वजनिक सवारीसाधन जाममा पर्ने गरेका छन् । यसका साथै पुलचोकदेखि पोखरा बसपार्क जाने बाटोमा पनि सवारीसाधन लामबद्ध जाममा परेको दृश्य देख्न सकिन्छ । साघुँरो नारायणी पुल र पुलचोकदेखि पोखरा बसपार्क जाने मुख्य सडकको आवातजावतमा समस्या देखिन थालेको हो । मेनरोडलाई विस्तार गर्न वा यसको विकल्प दिन नसकेसम्म जाम कम हुने सम्भावना देखिँदैन । भरतपुर महानगरपालिका–९ बस्ने गीता अधिकारीले बिहान र बेलुका दैनिक अफिस आवतजावत गर्दा १५ देखि २० मिनेट जाममा फस्नुपर्ने बताइन् । जामकै कारण कहिलेकाही समयमा अफिस पुग्न नसकिने दुःखेसो अधिकारीले सुनाइन् ।

दैनिक १० देखि १५ हजार सवारीसाधन भित्रिने र बाहिरिने नारायणी पुलमा अत्यधिक जाम हुने जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्णज्यू ठकुरीले बताए । बिहानको अफिस समय र बेलुका ३ बजेदेखि ६ बजेको बीचमा अत्यधिक जाम हुने ठकुरीले बताए । अहिले पुलचोकमा दैनिक चार जना ट्राफिक प्रहरी खटिएको र आवश्यकतासँगै ५ देखि ७ जना खटिनुपर्ने प्रहरी नायब निरीक्षक ठकुरीले बताए ।

यस्तै यातयात व्यवस्था कार्यालय चितवनका प्रमुख सुवास उप्रेतीले बढ्दो सवारी चापलाई कम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै एउटै रुटमा चल्ने म्याजिक, बस तथा अटोहरुलाई भित्री सडकमा पनि नियमन गरिने बताए । पुलचोकको जाम जस्तै अन्य क्षेत्रमा पनि जाम बढ्दै गयो भने भरतपुरको महानगर काठमाडौँको अवस्थामा नपुग्ला भन्न सकिँदैन । तसर्थ समयमा नै भरतपुरलाई काठमाडौँ जस्तो भद्रगोल बन्न सक्ने सम्भावनाबाट रोक्नको लागि सबै सरोकारवालाहरु सचेत बन्न जरुरी छ ।

फोटो : निशा श्रेष्ठ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>