चितवन विशेष
सीपीएल ः राप्ती र्यापिड्सद्धारा स्थानिय खेलाडीहरुको ट्यालेन्ट हन्ट

चितवन,माघ १४-
सिएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि -२० क्रिकेट प्रतियोगिताको लागि राप्ती ¥यापिड्सले राम नरेश गिरी र भिम सार्कीलाई अनुबन्ध गरेको छ । राप्तीले अण्डर १९ राष्ट्रिय टोलीबाट खेलिसकेका गिरी र सार्कीलाई अनुबन्ध गरेको हो । यस्तै राप्तीले सोमबारस्थानिय खेलाडीहरुको ट्यालेन्ट हन्टसमेत गरेको छ । भण्डारा मा.वि. को मैदानमा सम्पन्न ट्यालेन्ट हन्टबाट ७ जना स्थानिय खेलाडीहरु छनोट भएको सिईओ सञ्जय धरेलले जानकारी दिए ।
ट्यालेन्ट हन्टबाट छनौट भएका खेलाडीहरुमा आकाश पाण्डे,लक्की प्रसाद सापकोटा, कृष्ण घिमिरे, विमल खड्का, गोविन्द त्रिपाठी, भरत ढुङगेल र पाल्देन लामा रहेका छन् । छनौट भएका सातै जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिनेछ । टिमका प्रशिक्षक दीपेन्द्र प्रताप सिंहले ७ जनाबाट ३ जना खेलाडी छनौट गर्ने धरेलले बताए । यस्तै मंगलबार सौराह स्याण्डले पनि ट्यालेन्ट हन्ट गर्ने क्लबका प्रशिक्षक अनिल अधिकारीले जानकारी दिए । सहभागी अन्य टिमहरु पनि ट्यालेन्ट हन्टको तयारीमा रहेका छन् ।
नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना तथा चितवन क्रिकेट संघको सह आयोजनामा १७ गतेबाट शुरु हुने प्रतियोगितामा ५ वटा टिमहरु सहभागी हुनेछन् । प्रतियोगिताको बिजेताले २ लाख तथा उपबिजेताले एक लाख रुपैया प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीसहित बेस्ट बलर, ब्याट्सम्यान र अलराउण्डरलाई अवार्ड प्रदान गरिने आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि का प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट बलर, ब्याट्सम्यान र अलराउण्डरले ईपीएलमा चितवन टाइगर्सबाट खेल्न पाउने सम्झौता भएको उनले जानकारी दिए । प्रतियोगिताको २ खेलहरु चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेलाउने तयारी भईरहेको आयोजकले जनाएको छ । सीपीएलका सबै खेलहरु प्राइम टाइम्स टेलिभिजनमा प्रसारण हुनेछ ।
























