खेलकुद
भरतपुरमा तेक्वान्दोका खेलाडी छनौट

चितवन, माघ १३-
प्रथम राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता–२०७६ का लागि भरतपुर महानगरपालिकाबाट तेक्वान्दोका खेलाडीहरु छनौट गरिएको छ ।
आइतबार र सोमबार भरतपुर कबर्ड हलमा खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर जिल्लास्तरीय खेलका लागि खेलाडी छनौट गरिएको हो । दुई दिनको खेलबाट भरतपुर महानगरपालिका भित्रका ६ जना छात्र तथा ६ जना छात्रा गरी १२ जना खेलाडी छनौट गरिएको राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता–२०७६ मूल समिति सदस्य विकास श्रेष्ठले जानकारी दिए ।
प्रतियोगतामा भरतपुर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी थिए । श्रेष्ठकाअनुसार तौलसमूह अनुसार खेलाडी छनौट गरिएको छ । छात्रातर्फ ४२ किलो, ४४ किलो र ४६ किलो तथा छात्रतर्फ ४५ किलोमुनि, ४८ किलो र ५१ किलो तौल समूहमा खेलाडी छनौट गरिएको श्रेष्ठले जानकारी दिए । छात्रातर्फ ४२ किलो तौल समूहमा उषा इङ्गलिस स्कुलकी करिना नगरकोटी र अमर माविकी विद्या बराम, ४४ किलो तौल समूहमा डन एकेडेमीकी पुनम क्षेत्री र प्रेमबस्ती माविकी शुष्मा थापा तथा ४६ किलो तौल समूहमा उषा इङ्गलिस स्कुलकी रोशनी श्रेष्ठ र आभारभूत विद्यालय धनौजीकी स्वस्तिका बोटे जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका श्रेष्ठले जानकारी दिए । त्यस्तै, छात्रतर्फ ४५ किलो तौल समूहमा बालकुमारी कन्या माविका रोशन परियार र प्रेमबस्ती माविका सुजन तामाङ, ४८ किलो तौल समूहमा स्टेप बाइ स्ेटप स्कुलका प्रवेश घिमिरे र उषा इङ्लिस स्कुलका मनिस चौधरी तथा ५१ किलो तौल समूहमा पारिजात स्कुलका सोनाम नेपाली र मुनलाइट इङ्लिस स्कुलकला पावल केसी जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सीताराम कोइराला प्रमुख अतिथि रहेका थिए । त्यस्तै, चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल, राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता २०७६ मूल समिति सदस्यहरु विकास श्रेष्ठ र जयदेव पौडेल, आधारभूत विद्यालय धनौजीका देवराज बस्नेत, शिक्षा अधिकृत बाबुराम दवाडी, अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी विश्वराम खातीलगायत अतिथि रहेका थिए । चितवन जिल्लाका तेक्वान्दो संघका संस्थापक प्रशिक्षक राम थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

























