चितवन विशेष
भरतपुरको रामनगर माविमा महायज्ञ सुरु

चितवन, माघ २-
रामनगर माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्न आजबाट महायज्ञ सुरु गरेको छ ।
महायज्ञको प्रतिनिधि सभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आज उद्घाटन गरेका हुन् ।
विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न र प्राविधिक शिक्षाको पठनपाठन गराउने उद्देश्यले महायज्ञ लगाइएको विद्यालयले जनाएको छ । महायज्ञको उद्घाटन गर्दै सांसद पोखरेलले विद्यालयबाट थालिएको यो अभियानमा सरिक हुन सबैलाई अनुरोध गरे । महायज्ञबाट संकलित रकमले मात्रै विद्यालयको पठनपाठनमा आमुल परिवर्तन आउन नसक्ने भन्दै उनले भौतिक संरचना निर्माणसँगै विद्यालयको पठनपाठनमा पनि दत्तचित्त भएर लाग्नुपर्ने बताए । पोखरेलले सांसद विकास कोषबाट विद्यालयको शैक्षिक उन्नयनको लागि आगामी वर्ष १० लाख रुपैयाँ सहयोग गर्ने पनि जानकारी दिए । उद्घाटन समारोहमा चितवन क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सभा सांसद एवम् वागमती प्रदेशका शिक्षा, स्वास्थ्य, तथा कृषि समितिका सभापति घनश्याम दाहाल अविनाशले आगामी दिनमा प्राविधिक विषय सबैको रोजाइ भएकाले अब अर्को महायज्ञ लगाउन नपर्ने गरी विद्यालयलाई सबैले सहयोग गनुपर्ने बताए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यालयका पूर्वप्रधानाध्यापक जीवनाथ पराजुलीले एक लाख १५ हजार ५५५, भरतपुर महानगरपालिका वाड नं. १ का अध्यक्ष जयराम श्रेष्ठले १५ हजार ५५५ रुपैयाँ, सदस्य शुक्रकुमार श्रेष्ठले २० हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पुष्पराज देवकोटाले १० हजार १११ रुपैयाँ सहयोग गरेका थिए । उद्घाटन समारोअघि विभिन्न झाँकीसहितको कलश शोभा यात्राले रामनगर बजार परिक्रमा गरेको थियो । महायज्ञमा कथा शिरोमणि पण्डित दिपकप्रसाद पौडेलले कथावाचन गरिरहेका छन् । माघ ३ गते देखि ८ गतेसम्म कथा वाचन हुने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग कुँवरले जानकारी दिए ।

























