कृषि

रत्ननगर महोत्सवमा दूधका परिकार लोकप्रिय बन्दै

Banner

चितवन, माघ २-

टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा दुग्धजन्य पदार्थको प्रवद्र्धन गर्ने उद्देश्यले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले स्टल राखेको छ ।

कृषि परिसर नजिकै संघले नगरस्तरीय दुग्ध उत्पादक सहकारी संघ रत्ननगर र व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरसँगको सहकार्यमा दूधका परिकार पाइने स्टल राखेको हो । संघका सचिव किशोर बगालेका अनुसार खुवा, पनिर मःमसहितका दुग्धजन्य परिकारहरु महोत्सव स्टलमा नै निर्माण गरेर बिक्री वितरण गरिँदै आएको छ । सो परिसरमा रत्ननगर नगरपालिका वडा नम्बर १६ मा रहेको पिठुवा डेरीको मिठाइ समेत बिक्रीका लागि राखिएको बगालेले जानकारी दिए ।

संघलाई आर्थिक सहयोग गर्ने तथा दुग्धजन्य पदार्थको प्रवद्र्धन गर्ने उद्देश्यले स्टल राखिएको बगालेले बताए । नाफा कमाउने भन्दा पनि दुग्धजन्य पदार्थको खपत बढाउने उद्देश्यले स्टल राखिएको भन्दै बगालेले दुग्धजन्य पदार्थहरु सुपथ मूल्यमा बिक्री विरतण गरिएको जानकारी दिए । दूध तथा दुग्धजन्य पदार्थको परिचय गराउँदै उपभोक्तालाई आकर्षित गराउन र पशुपालक कृषकलाई आत्मनिर्भर बनाउन स्टलले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

विकेन्द्रीत आयोजना सहयोग इकाइ हेटौँडा र नेपाल लाइभस्टक इन्नोभेसन सेक्टर आयोजनाको आर्थिक सहयोगमा स्टल राखिएको भन्दै बगालेले स्टलमा अन्यत्रका स्टलमा भन्दा दुग्धजन्य पदार्थको स्टलमा आगन्तुकहरुले ध्यान दिएर अवलोकन गर्नुका साथै परिकारहरु चाख्ने गरेको बताए । शुद्ध र गुणस्तरीय उत्पादनहरु बिक्री भइरहेकाले विशेष गरी खुवा र पनिर मःम चाख्नका लागि उभोक्ताहरु प्रतिक्षारत भएका उनले बताए । चितवनमा दैनिक तीन लाख लिटर दूध उत्पादन हुने गरेकोमा करिब ४५ प्रतिशत दूध जिल्ला बाहिर खपत हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>