चितवन विशेष

चितवनमा १०६ वर्षीय वृद्धको मोतियाबिन्दुको शल्यक्रिया

Banner

चितवन, पुस २९-

भरतपुर आँखा अस्पतालको बहिरङ्ग सेवामा आज बिहान भेटिएका एक वृद्ध निकै खुशी देखिन्थे। १०६ वर्षको उमेरमा एक साताअघि आफ्नो देब्रे आँखाको मोतियाबिन्दुको शल्यक्रियापछि आँखा देखेसँगै उनमा खुशी थपिएको हो ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी पुननारायण श्रेष्ठको यो उमेरमा सफल शल्यक्रिया भएपछि उनी निकै खुसी भएका छन् । पत्रकारले मान्छे चिन्नुहुन्छ भन्न नपाउँदै उनले भने, “तपाईंले लगाएको जकेट कालो रहेछ, पर बसेकाहरुलाई पनि देखेको छु ।” एक वर्षअघिदेखि धमिलो हुँदै गएको आँखाले पछिल्लो समय देख्न छाडेपछि उनी चिन्तित थिए।

उनलाई आँखाको शल्यक्रिया गर्न नजिकै घर भएकी भरतपुर आँखा अस्पतालमा कार्यरत छायाँ श्रेष्ठले सुझाव दिइन् । त्यतिमात्रै होइन, छायाँले अस्पतालका डा मारिया गौतमसँग परामर्श गरेर शल्यक्रियाको प्रबन्ध पनि मिलाइदिइन् । सफल शल्यक्रियापछि निकै उत्साहित हुँदै वृद्ध श्रेष्ठले आफूले जीवनमा पुनः आँखा देख्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरे ।

उनले भने, ‘उपचार गरे हुँदोरहेछ ।’ उनीसँगै रहेका जेठा छोरा नारद श्रेष्ठले डोराएर हिँड्नुपर्ने बुबा आफैले हिँड्न थालेपछि निकै खुसी भएको बताए । अस्पतालका चिकित्सक डा गौतमले वृद्धहरुको शल्यक्रिया कठिन हुने भए पनि बिरामीले चाहेमा सफल सल्यक्रिया गर्न सकिने बताए । आफ्नो जीवनमा यति धेरै उमेरका व्यक्तिको शल्यक्रिया गरेको भने पहिलो भएको उनले बताइन् ।

उपचारमा उमेरले नछेक्ने भएकाले आत्मबल उच्च गरेर उपचार गर्न आउन गौतमले आग्रह गरिन्। भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको थियो । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवम् आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गर्दै आएको छ ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ बिरामीको आँखाको उपचार गरिएको हो । नौ आँखा उपचार केन्द्रमार्फत पनि अस्पतालले सेवा दिइरहेको छ । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले गत आवमा पाँच हजार ६९६ को आँखाको शल्यक्रिया गरेको थियो । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएको छ । वृद्धहरुको पनि सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको बताउँदै उनले त्यस्ता व्यक्तिको उपचारमा अस्पतालले प्राथमिकता दिएको बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>