चितवन विशेष

उवा संघ–चितवनको निर्वाचन सुरु, दलीय आधारमा दुई प्यानलको प्रतिस्पर्धा

Banner

चितवन, पुस २९–

उद्योग वाणिज्य संघ, चितवनको नयाँ नेतृत्वका लागि आज (मंगलबार) निर्वाचन सुरु भएको छ ।

संघकै परिसरमा विद्युतीय उपकरणबाट निर्वाचन सुरु भएको हो । जसले गर्दा यसपटक निर्वाचन सकिएको केही घण्टामै नतिजा सार्वजनिक हुने छ । निर्वाचन तालिका अनुसार बिहान ८ बजेदेखि मतदान शुरु भई अपरान्ह ४ बजे सकिने निर्वाचन समितिले जनाएको छ ।

यसपटक निर्वाचनमा दुई वटा प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उवासंघको निर्वाचनमा विगत भन्दा यसपटक राजनीतिक रङ मिलेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्यानलको नेतृत्व राजु श्रेष्ठले गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट प्यानलको नेतृत्व ज्ञानेन्द्रमान शाक्यले गरेका छन् ।

यसपटक निर्वाचनमा कुनै राजनीतिक रङ घुस्न नदिने बताइको थियो । तर निर्वाचनको प्रक्रिया शुरु भएसँगै दुई दल निकटका व्यवसायीहरुको कित्ताकाट नै भयो । गोलाप्रथाबाट उम्मेद्वार चयन गरेको भन्दै विरोध स्वरुप अध्यक्षमा उम्मेद्वारी दिएका शाक्य अन्ततः लोकतान्त्रिक प्यालनकै नेतृत्व गर्न पुगेका छन् । सुरुआत देखिनै अध्यक्षका आकांक्षी देखिएका राजु श्रेष्ठ र चुननारायण श्रेष्ठबीच पूर्वअध्यक्षहरुले गोलाप्रथाबाट अध्यक्षका लागि उम्मेद्वार टुङ्गो लगाएपछि एकाएक समीकरणमा फेरबदल भएको थियो ।

२०७६–६८ को कार्यकालका लागि हुन लागेको निर्वाचनमा राजु श्रेष्ठको पक्षमा एक उपाध्यक्ष र बाँकी सदस्यहरु मात्रै आफ्नो पक्षका छन् । उनको प्यानलमा रहेका उम्मेद्वारी दिएका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चुननारायण श्रेष्ठ, उपाध्यक्षहरु सुमन कुमार श्रेष्ठ र इ.भोजराज कौडाल अन्ततः शाक्यको प्यानलमा मिसिन पुगे । शाक्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका विष्णुप्रसाद कँडेलले चुननारायण श्रेष्ठलाई समर्थन गरेपछि श्रेष्ठ निर्विरोध नै भइसकेका छन् ।

यस्तै शाक्यको प्यानलमा पुगेका उपाध्यक्षहरु श्रेष्ठ र कौडाल पनि निर्विरोध भएका छन् । उनीहरु विजयी भएको औपचारिक घोषणा गर्न मात्र बाँकी छ । यता राजु श्रेष्ठको प्यानलमा सदस्यहरुमा मात्र रहेका छन् ।
श्रेष्ठको प्यानलबाट वाणिज्य तर्फको कार्यसमिति सदस्यका लागि चेतनारायण सापकोटा, थीरप्रसाद धिताल, पाण्डव ढकाल, विकास थापा, शिवप्रसाद ओझा र ज्ञानुप्रसाद न्यौपाने चुनावी मैदानमा छन् । यस्तै उद्योग तर्फको कार्यसमिति सदस्य पदका लागि भानुभक्त न्यौपाने र महिला तर्फको कार्यसमिति सदस्यका लागि रजनी मास्के चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै शाक्यको प्यानलबाट उद्योगतर्फको सदस्यका लागि अशोक अधिकारी, ई.कृष्ण रिजाल, विनोद पौडेल, योगिता पिया, लिलबहादुर क्षेत्री र सोमप्रसाद काप्री चुनावी मैदानमा उत्रिएका छन् । वाणिज्यतर्फको सदस्यका लागि आनन्दराज राउत, बद्री पौडेल, लक्ष्मी रिमाल पौडेल र राजेन्द्र सिग्देल चुनावी मैदानमा उत्रिएका छन् भने महिला तर्फ विमला अधिकारी चुनावी मैदानमा उत्रिएकी छिन् ।

यसपटकको निर्वाचनमा खुलेरै राजनीतिक रुपमै दुई प्यानल देखिएपछि निर्वाचन थप रोचक बन्ने देखिन्छ । दुवै पक्षका उम्मेद्वारहरु आ–आफ्नै प्यानलको जित सुनिश्चित रहेको दावी गरेका छन् ।

अध्यक्षका उम्मेद्वार राजु श्रेष्ठले संस्थापन पक्षको समर्थन र सबै व्यवसायीको सहयोगले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । उनले भने, ‘सबै व्यवसायीले मलाई समर्थन गरेका छन्, मेरो जित सुनिश्चित छ ।’

यस्तै अर्का अध्यक्षका उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यले व्यवसायिक हकहितका लागि आफू कटिवद्ध रहेकोले आफ्नो जित सुनिश्चित रहेको दावी गरे । उनले भने, ‘म व्यवसायीको पक्षमा सधैँ छु, व्यवसायीलाई मर्का परेको विषयमा मैले समाधन गर्नेछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>