अन्तर्वार्ता

चितवनका सम्पूर्ण व्यवसायी र पूर्वअध्यक्षहरुको साथ मलाई छः राजु श्रेष्ठ

Banner

राजु श्रेष्ठ, चितवनको व्यवसायिक क्षेत्रमा चिरपरिचित नाम हो । विसं २०२४ सालमा नारायणगढको लीलाचोकमा जन्मिएका श्रेष्ठले खेलकुद र व्यवसाय क्षेत्रलाई नै आफ्नो जीवनको मुख्य गन्तव्य बनाए । बुबा हरिलाल श्रेष्ठ र आमा धर्मदेवी श्रेष्ठको माइलो छोराको रुपमा जन्मिएका उनको बाल्यकाल नारायणगढ बजार क्षेत्र, नारायणी नदी किनार, भरतपुरलगायत चितवनको सेरोफेरोमा नै बित्यो । बुबा हरिलाल जसले चितवनमा पहिलो पटक गाडी भित्र्याएर चर्चित बने । बुबासहित चितवनका अग्रज व्यापारीहरुको प्रेरणाले नै उनको जीवन व्यवसायिक यात्रा र समाजसेवातिर मोडियो ।

आज भन्दा झण्डै १२ वर्ष अघिदेखि उनी उद्योग वाणिज्य संघ चितवनमा साधारण सदस्यको रुपमा प्रवेश गरे । साधारण सदस्य बनेदेखि नै उनी व्यवसायीको हकहितमा निरन्तर लागिरहे । उनको यात्रा निरन्तर अविछिन्नरुपमा अगाडि बढिरह्यो । विसं २०७२ सालमा भारी मतका साथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष भइसकेका राजु यस पटक अध्यक्ष बनेर व्यवसायीको हकहितमा केही गरेर देखाउने अभियानमा जुटेका छन् । उनले उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । होटल ग्रयाण्ड भ्युका सञ्चालकसमेत रहेका श्रेष्ठसँग नारायणी अनलाइनले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको केही अंश :

प्रश्न: उवासंघमा तपाइँको उम्मेदवारी किन ?

जवाफ : मेरो उम्मेदवारी चितवनका व्यवसायीको हकहित र व्यवसाय प्रवद्र्धनको लागि हो । चितवनको सामाजिक र आर्थिक रुपान्तरणको लागि पनि उवासंघको अध्यक्षको रुपमा मेरो भूमिका हुनेछ ।

प्रश्न : तपाइँलाई अध्यक्ष बनाउन जे सहमति भएको थियो । एकाएक प्यानल तोडियो त ?

जवाफ : मलाई पुलमा लगेर धकेल्न खोज्नेहरुसँग मैले केही भन्नु छैन । यसलाई समग्र व्यवसायी मतदाताहरुले राम्रोसँग बुझेका छन् । वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र म सहमति अनुरुप भोट माग्न माडीमा पुगेका थियौं । उनी र म अहिले दुवै अध्यक्षको प्रत्यासीरुपमा चुनावी प्रतिस्पर्धामा रहन्थ्यौं तर पनि व्यवसायीको हकहितको लागि सबै एकताबद्ध भएर अगाडि बढ्नको लागि त्यसप्रकारको सहमति गरिएको हो । यसरी एकाएक रुप परिवर्तन गर्नेहरुलाई व्यवसायीहरुले राम्रोसँग बुझेका छन् । अहिले रुप परिवर्तन गरेर चुनावी मैदानमा होमिँदा व्यवसायीसँग के भनेर भोट माग्छन् त्यो हेर्छु मैले । उनीहरुलाई समग्र मतदाताहरुले पनि राम्रोसँग चिनेका छन् ।

प्रश्न : आफ्नो पक्षमा मत मागिरहँदा व्यवसायीहरुको के प्रतिक्रिया छ  ?

जवाफ : तपाइँलाई अन्याय भएको छ भनेर धेरै जनाले भनिरहनु भएको छ । व्यवासायीहरुको समस्याहरु समाधानमा निरन्तर सक्रिय रहँदै आएकोले पनि चितवनका सबै व्यवसायीहरु मेरै पक्षमा हुनुहुन्छ ।

प्रश्न: अध्यक्षमा तपाइँको उम्मेदवारीबारे पूर्वअध्यक्षहरुको प्रतिक्रिया के छ ?

जवाफ : म सधै पूर्व अध्यक्षहरुको सल्लाह र सहमतिमा नै अगाडि बढेको छु । वहाँहरुको सल्लाह बमोजिम नै म र चुननारायणको बीचमा सहमति भएको हो । संस्थालाई बचाउनुपर्छ र एकताको सन्देश दिनुपर्छ भन्ने वहाँहरुको धारणा रहेको छ ।

प्रश्न: तपाइँ कसरी अन्य उम्मेदवारहरु भन्दा बलियो हुुनुहुन्छ ?

जवाफ : एजेण्डा र मेरो सक्रियताको हिसाबले म सधै बलियो छु । म उद्योग वाणिज्य संघ चितवनमा सदस्यदेखि पदाधिकारीको रुपमा काम गरिसकेको व्यक्ति हो । नारायणगढ बजार क्षेत्रको व्यवस्थापनदेखि व्यवसायीहरुको पीरमर्काको बारेमा मलाई राम्रोसँग जानकारी छ । अहिले व्यवसायीहरु चर्काे घरभाडा, कर्मचारीको व्यवस्थापन जस्ता समस्याहरुले मर्कामा परेका छन् । व्यापार निरन्तर घट्दो छ । व्यवसायीको आवाज र पीरमर्काकालाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसम्म उठाउनको लागि पनि म सधै लागिरहने छु । सधै व्यवसायीहरुको साथमा निरन्तर काम गरिहेकोले पनि मेरो जीत सुनिश्ति नै छ ।

प्रश्न : उवासंघको विभिन्न पदमा बस्दा के के काम गर्नुभयो ?

जवाफ: मैले विगतमा के के काम गरेँ भन्ने विषय त आम व्यवसायीहरुले नै महसुस गर्नुभएको छ । चितवन महोत्सवमा सबैभन्दा राम्रो काम गरेकोले म दुईपटकसम्म सम्मानित भएको छु् । मेरो कामलाई स्वयं पूर्वअध्यक्षहरुले नै प्रशंसा गरिरहनु भएको छ । म रातको १२ बजेसम्म पनि व्यवसायीलाई पिरमर्का पर्दा खट्ने गरेको छु ।

प्रश्न : अध्यक्षको रुपमा निर्वाचित भएपछि के गर्नुहुन्छ ?

जवाफ :  साना तथा मझौला व्यवसायीका हकहितका विषयहरु जोडदार ढंगले उठाउँने छु । क्याम्पाचौरलाई मिनी स्टेडियम बनाउने विषयमा म हिजोदेखि नै लागि रहेको छु । यसलाई पूरा गर्नेछु । नारायणी नदीको व्यवस्थापन गर्दै समुन्द्री किरारको अनूभूति हुने गरी भारतको गोहाको मोडलमा विकास गर्न सक्रियरुपले लाग्ने छु । भ्रमण वर्ष २०२० मा चितवनका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने छु । कुनै एउटा दल वा समूहको हकहित भन्दा पनि समग्र व्यवसायीको हकहित र चितवनको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछु ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>