मकवानपुर

दुई दिनपछि स्थायी राजधानी पाउँछौंः मुख्यमन्त्री पौडेल

Banner

हेटौंडा,पुस २५-

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताउनुभएको छ । उद्योग सङ्घ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश नं ३ सरकार लागिरहेको बताउनुभयो । उहाँले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नं ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पार्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्न यहाँको औद्योगिक विकास आवश्यक रहेको बताउनुभयो । “हाम्रो प्रदेशको समृद्धिको आधार के के हुनसक्छ भनेर विज्ञसहित धेरै छलफल भए, अध्ययन भए र ती सबैको अन्तिम निचोड भनेको उद्यमशीलता बढाउने, औद्योगिक विकास गर्ने भन्ने नै हो भन्ने बुझेका छौं र आगामी दिनमा सोही अनुसार रणनीति निर्माण गर्छौ”, मन्त्री नेपालले भन्नुभयो । उहाँले प्रदेशलाई उद्योगमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो । बढीभन्दा बढी उद्योगीलाई यस प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गरिने बताउँदै प्रदेश सरकार उद्योगलाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>