चितवन विशेष
चितवनका सांसद हेटौंडा राजधानीको पक्षमा, संसदमा उठाए जोडदार माग

चितवन, पुस २४-
चितवन जिल्लाका सबै राजनीतिक दलका प्रदेश सांसदहरुले चितवनको विकल्पमा हेटौंडा नै प्रदेशको राजधानी बनाउनुपर्ने पक्षमा उभिएका छन् ।
चितवनका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विजय सुवेदीले प्रदेशको राजधानी हेटौंडालाई समर्थन गरेको बताएका छन् । उनले हेटौंडा हरेक दृष्टिकोणले राजधानीको लागि उपयुक्त भन्दै चितवनको समर्थन हेटौंडाको पक्षमा रहेको बताए । काठमाडौं वरिपरी राजधानी राखेर काठमाडौंको जनघनत्व बढाउन नहुने उनको तर्क थियो । उनले काभ्रे, भक्तपुरलाई राजधानी बनाएर जान नहुने भन्दै अस्थायी राजधानी भइसकेको हेटौंडालाई स्थायी कायम गर्नुपर्ने बताए । राष्ट्रिय राजनीतिको हिसाबले पनि हेटौंडा राजधानी चाहिने र सान्दर्भिक रहेको उनले बताए । सुरुङमार्ग निर्माण भयो भने चितवन भन्दा काठमाडौं हेटौंडाबाट नजिक हुने सुवेदीको तर्क थियो ।
नेपाली कांग्रेसका प्रदेश सांसद मिलनबाबु श्रेष्ठले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ३ को मुकाम हेटौंडा तोकेकोले सो ठाउँबाट राजधानी सार्ने सम्भावना नरहेको विचार राखे । उनले भने, ‘पूर्वाधारको हिसाबले चितवन नै ठीक भए पनि यसको विकल्प हेटौँडा नै ठीक हुन्छ ।’
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी सांसद रीना गुरुङले हिजो राजा महेन्द्रको समयमा पाँच विकास क्षेत्र हुँदा पनि मध्यमाञ्चलको क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा भएकोले पनि हेटौँडा प्रदेशको राजधानी हुनु वैज्ञानिक रहेको तर्क गरिन् । उनले नारायणी अनलाइनलाई भनिन्, ‘ तराई र पहाडबीचको सम्बन्ध राम्रो बनाउन पनि हेटौंडा उपयुक्त हुन्छ । राष्ट्रियताको सवाललाई पनि ध्यान दिनुपर्छ । तराई र पहाडको सन्तुलित विकासको लागि पनि हेटौंडा नै राजधानी हुनुपर्छ ।’ जनताको दैनिक क्रियाकलापहरु स्थानीय तहबाटै सम्पन्न हुने भएकोले पनि प्रदेश राजधानी जानुपर्ने काम सर्वसाधारण नागरिकलाई खासै नपर्ने सांसद गुरुङको तर्क थियो । राजधानीको विषयमा देशभर बहस चलिरहेको अवस्थामा चितवनका सबै प्रदेश सांसदहरु हेटौंडा नै राजधानी हुने पक्षमा उभिएका हुन् ।
























