चितवन विशेष
राष्ट्रिय सभामा सांसद रावलको मागः चितवनमा हात्ती आतंक रोक्न व्यवस्थित तारबार गरियोस

चितवन,पुस २४-
सांसद दिलकुमारी रावल थापा पार्वतीले चितवन राष्ट्रिय निकुञ्ज र मानव बस्तीको बीचमा व्यवस्थित तारबार गर्न माग गरेकी छन् । जंगली हात्ती मानव बस्तीमा पसेर जनजीवन आतंकित बनाएको तथा धनमाल नष्ट गरेको भन्दै सांसद रावलले वन मन्त्रालय र निकुञ्ज प्रशासनसँग यस्तो माग गरेकी हुन् ।
’चितवन राष्ट्रिय निकुञ्जका जंगली हात्ती मानव बस्तीमा पसेर जनजीवन आतंकित बनाएका छन् । पुस ७ गतेयता भरतपुर– २८ अन्दौलीका लोकनाथ सापकोटालगायत विभिन्न किसानको करीब ८ बिघा जमिनमा लगाएको केरा खेती जंगली हात्तीले नष्ट गरेको छ । सोही स्थानका माइला लामासहित अन्य ४/५ जनाको घरभित्र राखिएका अन्न नष्ट भएका छन, भरतपुर २५ बुद्धनगरका ३ घरमा क्षति पुगेको छ,’ राष्ट्रिय सभाको बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसद रावलले भनिन् । जनता जिउधन र सम्पत्तिको सुरक्षाका लागि उनले सरकारको ध्यानाकर्षण गराइन् ।
’जनता बाँच्न चाहन्छन, सम्पत्तिको सुरक्षा पनि चाहन्छन् । जंगली हात्तीलाई तत्काल नियन्त्रण गर्न र पीडित नागरिकलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न तथा निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबार निर्माण गरी जंगली जनावर र मानव बस्तीबीचको द्वन्द्व समाधान गर्न निकुञ्ज प्रशासन र वन मन्त्रालयसँग सम्माननीय अध्यक्षज्यूमार्फत जोडदार माग गर्दछु,’ सांसद रावलले भनिन् ।
चितवनबाट प्रतिनिधित्व गर्ने सांसद रावलले त्यस क्षेत्रका जनताले भोगेका समस्या र स्थानीय सरोकारका विषयमा निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएकी छन् ।
























