चितवन विशेष
गोन्द्राङ-पुल्चोक सडक विस्तारको काम अघि बढ्यो, धमाधम रुख काटिँदै

चितवन,पुस २३-
भरतपुरको गोन्द्राङ–पुल्चोक सडक विस्तारको काम अघि बढेको छ । सडको विस्तारका लागि धमाधम रुख काट्न सुरु गरिएको छ । सडकलाई विस्तार गरेर छ लेनको बनाउनका लागि रुख काट्ने काम भइरहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन् । उनले भनिन्, ‘सडक विस्तारको काम अघि बढ्यो, हप्ता/दश दिन भित्र टेण्डरको प्रकृयामा जान्छौं ।’उनले वन कार्यालयबाट स्वीकृत लिएर सडकको दाँया बाँया रहेका रुख काट्न थालिएको बताइन् । ‘सडकभित्र पर्ने अन्य संरचनाहरु पनि क्रमशः हटाइने छ, उनले भनिन्’, तीब्र गतिमा सडक विस्तारको काम गरिने छ ।’

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले सडक विस्तारको काम अघि बढेको बताए । उनले बहुवर्षिय टेण्डर आब्हानका लागि कार्यालयले सम्पूर्ण फाईल मन्त्रालयमा पठाएको बताए । ‘जतिसक्दो चाँडो योजना आयोगबाट स्वीकृत भएर आउँछ, त्यति छिटो टेण्डर हुन्छ,उनले भने,आवश्यक प्रकृया समयमै सुरु गरेका छौं ।’ उनले सडको डिपिआर तयार भइसकेको बताउनुभयो । नारायणगढ–बुटवल सडकको मोडेलमा छ लेनको सडक निर्माण हुनेछ,उनले भने । टेण्डर भएको दुई बर्षभित्र सडक निर्माण सम्पन्न हुने अधिकारीले बताए ।
एक महिना अघिमात्रै भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री वसन्तकुमार नेम्वाङले सडकको स्थलगत निरीक्षण गरेर एक महिनाभित्र टेण्डर गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पश्चात बाइपास सडकलाई चार लेन बनाउन टेण्डर भइसकेको छ ।

























